विदेश छाडेर नेपालमै च्याउ खेती, वार्षिक करीब साढे १ करोडको कारोबार
मलेखु,भदौ २२ । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती शुरु गरेका हुन् ।
युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु एक लाख कमाउने उनले नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती शुरु गरेको बताए । ‘अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती शुरु गरिएको हो,’ पौडेल भन्छन्, ‘चार वर्षअघि शुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।’
विसं २०७६ मा काठमाडौंको नागार्जुन नगरपालिका–५ आमकोटबाट साझेदारीमा च्याउ खेती शुरु गरेका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहेका छन् । उनीसँग अहिले ४५ च्याउ घर छन्, दुई रोपनीमा ग्रिन हाउस छ ।
पौडेल भन्छन्, ‘१० रोपनी आफ्नै जग्गा हो, २० रोपनी जग्गा वार्षिक रु ७५ हजार भाडामा लिएको छु, च्याउमा मात्रै पूरा एक करोड लगानी भएको छ ।’ उनले अहिले दैनिक पाँच सय किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्ने गरेका छन् । यस आधारमा महीनामा सरदर २० दिनमात्र च्याउ विक्री गर्दा उनले १० हजार किलो च्याउ बेच्छन् । एक वर्षमा एक लाख २० हजार किलो च्याउ विक्री गर्दै आएको उनले बताए ।
प्रतिकिलो सरदर रु १२० मा च्याउन विक्री गर्दा वार्षिक रु एक करोड ४४ लाखको कारोबार हुने उनको अनुभव छ । जलेश्वर कृषि च्याउ तथा पशुपंक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले रु २५ लाखमा गाडी किनेका छन् । तीनजना पूर्णकालीन र छ जना आंशिक गरी नौ जनालाई उनले रोजगारी पनि दिएका छन् ।
पौडेल भन्छन्, ‘हिजो म अर्काको देशमा अरूकै काम गरेर आएको हुँ, आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु ।’
उनले दुईओटा ग्रिन हाउस बनाउन रु ६ लाख अनुदान सरकारबाट लिएका छन् । काम गर्ने मजदुर खर्च, ब्याज, कच्चा पदार्थ खर्च, औषधी उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक रु एक लाख २० हजार बराबर कमाइ हुने उनको भनाइ छ ।
‘कमाएको हिसाबले विदेशमा मासिक रु ७५ हजार आउँथ्यो । विना लगानीको कमाई ठिकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी रु एक करोडमध्ये ५० लाख ऋणमा छ, घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु,’ उनले भने ।