अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक बहस गर्न आवश्यक : अर्थमन्त्री
काठमाडौं,भदौ २१ । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनका लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्रीले देशमा अर्थतन्त्र लगायतका विषयमा सकारात्मक बहसको आवश्यकता रहेको भन्दै उक्त बहस संसदबाटै सुरु गर्न आवश्यक रहेको बताए । उनले देशमा सबै नराम्रो मात्रै भएको छ, अर्थतन्त्र ओरालो लागेर बिग्रियो, अब यो देशमा बस्नु र लगानी गर्नुको औचित्य छैन भन्ने जस्ता नकारात्मक सन्देश समाजमा फैल्याउन नहुने उल्लेख गरे ।
अर्थमन्त्री महतले भने, ‘‘देशमा सकारात्मक बहसको आवश्यकता छ । देशमा सबै नराम्रो मात्रै भएको छ । अर्थतन्त्र ओरालो लागेको छ । अर्थतन्त्र बिग्रिरहेको छ । अब यो देशमा बस्नुको औचित्य छैन । लगानी गर्नुको औचित्य छैन भन्ने जुन नकारात्मक सन्देश समाजमा गएको छ । सबैले नकारात्मक मात्रै कुरा गरिराख्यो भने परिणाम पनि नकारात्मक आउँछ । यस्तो हुँदा लगानीकर्ताले लगानी गर्दा फस्ने हो कि भन्ने अन्योल सिर्जना हुन्छ । यो अन्योललाई चिर्न जरुरी छ । सकारात्मक बहसको थालनी गर्नुपर्ने मैले देखेको छु । कोभिड जस्तो कहाली लाग्दो परिस्थितिबाट गुज्रियौँ । त्यो बेला हामी आत्तिएनौँ । अहिले सबै अवस्था पार गरेर अर्थतन्त्र सहज अवस्थामा आएको छ । अहिले रेमिटेन्स पनि प्रशस्त छ । पुँजी प्रवाह देशभित्र भइरहेको छ ।’’