फोहोर व्यवस्थापनमा सरकार गम्भीर



काठमाडौं,भदौ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले काठमाडौँ उपत्यकालगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति सरकार गम्भीरतापूर्वक लागिरहेको र यस सम्बन्धमा छिट्टै नै ठोस निर्णय लिने बताएका छन् । उनले फोहोर व्यवस्थापन सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएको स्पष्ट पारे ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सहरी विकास मन्त्रालय, विभिन्न सरोकारवाला निकाय तथा पक्षका प्रतिनिधिसहित मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले सो कुरा बताएका हुन् । 

फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गर्नुपर्ने बताउँदै उनले त्यसका लागि ठोस गृहकार्य गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिएको छलफलमा सहभागी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव मणिराम गेलालले जानकारी दिए ।

सचिव गेलालका अनुसार बैठकमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायसँग छलफल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्