मुलुकको हित हुने गरी एमसीसी र बीआरआईबाट लाभ लिनुपर्छ : सभामुख घिमिरे
काठमाडौं,भदौ १७ । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताएका छन् । ‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताए ।
सभामुख घिमिरेले छिमेकी राष्ट्रहरूले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यसबाट फाइदा कसरी लिने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
सभामुख घिमिरेले भने, ‘ठूला राष्ट्रहरूको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकास र जनताको आत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ ।’ राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै दुवै मुलुकबाट कसरी फाइदा लिन सकिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताए । रासस