अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : अर्थमन्त्री



काठमाडौं,भदौ १७। अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए । उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे । 

‘अर्थतन्त्रमा केही समस्या आएका छन् । विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ,’ अर्थमन्त्री डा. महतले भने, ‘राज्य संयन्त्रबाट जहाँ कमी कमजोरी भएको छ, त्यहाँ सुधारका लागि निरन्तररूपमा लागिपरेका छौं । केही सीमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ ।’

पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उनले जानकारी दिए । राजस्व संकलन अपेक्षाअनुसार नबढे पनि तुलनात्मकरूपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा. महतको भनाइ छ । 

राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए । अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’को आवश्यकता भएको उनको भनाइ छ । 

‘राज्य संयन्त्रका सबै अङ्गले एउटै लयमा एउटै लक्ष्यका लागि काम गर्न नसक्दा जानेर÷नजानेर गर्न नसक्दा पनि समस्या आएका छन्,’ अर्थमन्त्री डा. महतले भने, ‘निजी क्षेत्रमा लगानीको जोखिमलाई वास्तविकताको धरातलमा रहेर यथार्थ मूल्याङ्कन गर्न आवश्यक छ ।’ 

निजी क्षेत्रको गतिविधिलाई धेरै माइक्रो म्यानेजमेन्ट गर्नतर्फ लाग्दा समस्या आउने उल्लेख गर्दै उनले बृहत् नीतिगत ‘फ्रेमर्वक’ भित्र कार्यान्वयनमा लाग्नुको महत्त्वबारे स्पष्ट पारे । यस्तै निजी क्षेत्रले आत्मनियमन अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए । 

छाता सङ्गठनले एउटा मूल्य र मान्यतामा आधारित रहेर काम गर्न आत्म नियमनकर्ताको भूमिका निर्वाह गर्न मन्त्री डा. महतको सुझाव छ । वैदेशिक सहयोग लिँदा नेपालको आवश्यकता र प्राथमिकताका आधारमा मात्र लिने उनले प्रतिबद्धता व्यक्त गरे । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएको सुझावलाई कार्यान्वगन गर्न सरकारसँग माग गरे । उनले सरकारी निकामनकारी निकायबाट प्रवाह हुने सूचनालाई सबैको पहुँचमा सहज रुपमा पु¥याउनसमेत अर्थमन्त्री डा. महतसमक्ष सुझाव प्रस्तुत गरे । 

नेपाल उद्योग परिसङ्घका कार्यबाहक अध्यक्ष वीरेन्द्रप्रसाद पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खस्कँदो अर्थतन्त्रलाई सुधार गर्न एकजुट भएर अघि बढन् आह्वान गरे । 

कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले नविन प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोग पत्रकारिताका लागि चुनौती बन्ने बताए । उनले इमान्दारपूर्वक व्यावसायिक पत्रकारिता गर्न सुझाव दिँदै सेजनको नेतृत्व चयन निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गर्न सुझाव दिए । 

यस्तै सेजनका पूर्वअध्यक्षहरू गोकर्णराज अवस्थी, भीम गौतम र पुष्पराज आचार्य, नेपाल पत्रकार महासङ्घका महासचिव रोसन पुरीलगायतले सेजन र समग्र पत्रकारिताको शुद्धीकरणबारे आ–आफ्नो धारणा राखे । रासस

प्रतिक्रिया दिनुहोस्