माटो खुकुलो बनाउने जापानी प्रविधिको झोल मल नेपालमा
काठमाडौं,भदौ १६ । माटो खुकुलो बनाउने जापानी प्रविधिको झोल मल पहिलोपटक नेपालमा प्रयोगमा ल्याइएको छ । जापानमा उत्पादन भई कृषि विज्ञहरूको समूह जापान एग्रिकल्चरल स्ट्यान्डर्डमार्फत अग्र्यानिक प्रमाणित झोल मल नेपाली किसानले प्रयोगमा ल्याएका हुन् । जापानको क्लिवियो कम्पनीको यो उत्पादन स्वीट्जरल्यान्ड, चीन, बंगलादेश, थाइल्यान्ड, लाओसलगायत मुलुकले समेत प्रयोग गर्दै आएका छन् । नेपालमा पहिलोपटक यो मल ककनीका स्ट्रबेरी उत्पादन गर्ने कृषकले प्रयोगमा ल्याएका हुन् । शतप्रतिशत अग्र्यानिक प्रविधिबाट उत्पादित झोल मलको प्रयोगले बालीनाली बिरुवा अवस्थादेखिनै स्वस्थ हुनुका साथै रोग तथा कीरासँग लड्न सक्ने क्षमता वृद्धि हुने बताइएको छ ।
मल नियमित प्रयोग गर्दा यसले माटोमा भएका लाभदायक जीवाणुलाई सक्रिय बनाई माटो खुकुलो बनाउने र माटोमा भएको खाद्य तत्त्व बिरुवालाई जराबाट लिन सहज बनाउने बताइएको छ । त्यस्तै यसले माटोलाई स्वस्थ राखी उर्वराशक्ति बढाउने कृषि प्राविधिक शिव पोख्रेलले जानकारी दिए । यो मल आवर फाम्र्स नेपालले आयात गरेको हो ।
पोख्रेलका अनुसार जापानबाट आवश्यक कच्चा पदार्थ ल्याएर नेपालमै मल उत्पादन गर्ने काम पनि भइरहेको छ । त्यसका लागि ककनी गाउँपालिकाबाट स्वीकृति लिएर यसै वर्षदेखि काम भइरहेको उनले जानकारी दिए । ‘सबै किसिमको बालीमा प्रयोग गर्न सकिने झोल आफैमा मल होइन तर यसले फर्टिलाइजरलाई सपोर्ट गरेर माटो सुधारमा काम गर्छ,’ उनले भने । कम्पोस्ट मललाई गुणस्तरीय बनाउनमा पनि यसले सहयोग गर्ने उनले बताए । झोल मल कम्पोस्ट बनाउँदा कम्पोस्टमा मिसाउनुपर्छ । कम्पोस्टमा मिसाउँदा यो झोलमा पानी नमिसाईकन एक किलो कम्पोस्टमा एक मिलिलिटरका दरले झोल स्प्रे गर्नुपर्छ । यो मल प्रत्येकपटक कम्पोस्ट मल पल्टाउँदा तह तहमा छर्नुपर्ने पनि उनले जानकारी दिए ।
झोल मल कसरी प्रयोग गर्ने ?
झोल मल कम्पोस्ट मलमा नमिसाई सीधै माटोमा पनि मिसाउन सकिन्छ । माटोमा सीधै मिसाउँदा बारी खनजोत गर्नुअघि झोल मल एक लिटर पानीमा १० मिलिलिटरका दरले मिसाई बारीमा सबैतिर पर्नेगरी स्प्रे गरेर मात्र खनजोत गर्नुपर्छ ।
बारी खनजोत गरेर ड्याङ बनाइसकेपछि एक लिटर पानीमा झोल मल १० मिलिलिटरका दरले मिसाई मल्चिङ गर्नुपर्छ । बिरुवा रोपिसकेपछि र बिरुवामा फूल फुलिसकेपछि पनि सोही तरीकाले स्प्रे गर्नुपर्छ ।