धादिङ र रसुवाको माथिल्लो क्षेत्रमा फुजी स्याउ फल्यो, बजारमा लैजान समस्या !
काठमाडौं,भदौ १४ । धादिङ र रसुवा समुद्री सतहबाट तीन सय मिटरदेखि सात हजार एक सय मिटरसम्मको उचाइ रहेको भौगोलिक विविधता र सम्भावनाले भरिपूर्ण भूभाग रहेका जिल्ला हुन् । दुवै जिल्लाले छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोडिन्छ । तिब्बत भएर नेपालको रसुवागढीबाट चीनमा फलेको स्याउ बर्सेनि करोडौँ मूल्यबराबरको भित्रिन्छ । ती स्याउ उपभोग गर्न धादिङ र रसुवावासीले काठमाडौं ल्याउनुपर्छ । दुवै जिल्लामा स्याउ उत्पादनका लागि उपयुक्त हावापानी हुँदाहुँदै पनि प्राविधिक ज्ञान र स्याउको बेर्ना ल्याउने ठाउँको जानकारी नहुँदा विगतमा कसैले स्याउ खेती गर्ने आँट गरेनन् । पछिल्लो समय धादिङ र रसुवाका कर्मशील केही व्यक्तिले निजी खर्चमै स्याउखेती गर्ने आँट गरे । उनीहरूको आँट र परिश्रमले धादिङ र रसुवामा फुजीलगायत अन्य जातका स्याउ गत वर्षदेखि उत्पादन हुन थालेको छ । दुवै जिल्लामा उत्पादन भएको स्याउ व्यावसायिक रूपले बजारमा आएका छन् । बजारमा नेपालको नगन्य मात्रामा देखिने मौसमी स्याउ र आयातित चिनियाँ तथा भारतीय स्याउसँग प्रतिस्पर्धा गर्दै स्याउको परनिर्भरता कमी गर्न धादिङ र रसुवामा फलेको स्याउ आएको छ । धादिङमा उत्पादित स्याउ बजार पु¥याउन समस्या देखिएको छ भने रसुवामा फलेको स्याउ स्थानीय क्षेत्रमै हारालुछ भइरहेको छ ।
धादिङ उत्तरमा हिमशृङ्खला पाविल हिमालदेखि दक्षिणमा महाभारत लेकसम्म रहेको छ । यही पाविल हिमालको काखमा रहेको तिप्लिङ गाउँ सामुद्रिक सतह एक हजार आठ सय मिटरदेखि सात हजार एक सय मिटरसम्मको उचाइमा रहेको छ । यस जिल्लामा तराई, पहाड र हिमालको मिश्रित हावापानी पाइन्छ । जिल्लालाई ०७१ मा हिमाली जिल्लामा सूचीकरण गरिएको छ । आलुखेतीका रूपमा प्रसिद्ध तिप्लिङ पछिल्लो समय रुबी ढुङ्गाको चर्चामा समेत रहेको छ । यही रुबी ढुङ्गाकै नामबाट गाउँपालिकाको नाम रुबिभ्याली नामकरण भएको छ । रुबिभ्याली गाउँपालिकामा तत्कालीन तिप्लिङ, सेर्तुङ र लापा गाविस मिसाइएको छ । रुबिभ्याली गाउँपालिकाका सबै भूभाग हिमाली क्षेत्रमा पर्छ । पालिकाको वडा नम्बर १ मचेतका योहान तामाङले पाँच वर्षअघि लगाएको स्याउ अहिले लटरम्म पाकिरहेको छ । आलु फल्ने बारीमा स्याउ फलेको देखेर तामाङ आफैँ दङ्ग छन् भने गाउँका छरछिमेकी आश्चर्यचकित बनेका छन् । तर, उनले आजभन्दा ३० वर्ष पहिल्यै आफ्नै बारीमा फलेको स्याउको स्वाद पाएका थिए । बाजेले भारतबाट ल्याएर लगाएको स्याउ फलेको देखेका र खाएको स्वाद नभुलेका लरेन्स लामाले बारीमा स्याउ लगाउने सल्लाह गरे । परिवारका सबै सहमत भएपछि पाँच वर्षअघि मुस्ताङबाट स्याउको बिरुवा तीनवटा गाडीमा ल्याएर धादिङबेँसीदेखि तिप्लिङसम्म बोकाएर लानुपरेको थियो । गाउँमा स्याउको बिरुवा पु¥याउँदा आफूहरू काठमाडौंबाट नजिक रहेर पनि विकासमा पछि पारिएको महसुस गरेका थिए । बारीमा स्याउका बिरुवा रोपिरहँदा गाउँले भेला भएर आलु फलाएर खानुपर्ने बारीमा स्याउ रोपेर के नचाहिने काम गरेको भनेर गाली गरेको योहान र लरेन्सले अहिलेसम्म बिर्सेका छैनन् । अहिले बारीमा स्याउ पाक्न थालेपछि यी दाजुभाइले गरेका काम राम्रै रहेछ भनेर स्याउको स्वाद लिँदै उनका छरछिमेकी र गाउँले स्याउखेती गर्न जुर्मुराएका छन् । उनीहरू आवश्यक प्राविधिक ज्ञान र स्याउको बिरुवा ल्याउने ठाउँबारे चासो लिँदै स्याउखेती गर्ने तयारीमा रहेकोसमेत लरेन्स लामाले बताए ।
हिमालको सामुन्नेमा दुई हजार तीन सय मिटर उचाइमा रहेको मचेत गाउँमा पाँच रोपनी जग्गामा दुई सय बिरुवा लगाएकोमा अहिले करिब एक सय ८० वटा बोट रहेको अनुमान गरेका छन् । तीन वर्षअघिबाट फल्न थालेको स्याउ यस वर्ष निकै मनमोहक देखिने गरी फलेको देख्दा योहान निकै खुसी छन् । मिहिनेत र श्रमबाट निस्केको पसिना अहिले स्याउको दाना बनेकोमा उनीमा उत्साह थपिएको छ । उनलाई दाजु र परिवारले आवश्यक सहयोग र परामर्श दिइरहेका छन् । उनले लगाएको अधिकांश बोटमा यस वर्ष स्याउ फलेका छन् । १० केजीदेखि ७० केजीसम्म फलेको अनुमान उनले गरेका छन् । सरदर २० केजीका दरले फलेको भए पनि तीन हजार दुई सय केजी हुनुपर्ने अनुमान उनको छ । फुजी स्याउ स्वादिलो र आकार–प्रकार बनावट पनि राम्रै भएकाले भाउ पनि राम्रै आउने आशामा उनी छन् । उनले स्याउ लगाउन पाँच वर्षअघि दुई सय स्याउका बिरुवा किनेर गाउँसम्म पु¥याउँदा करिब ५० हजार खर्च भएको थियो । बिरुवा लगाउँदादेखि अहिलेसम्मको खर्च नगदमा भएको छैन । श्रममा भएकाले हिसाबमा नराखिएको उनले बताए ।
विगतदेखि नै आलु खनेर भकारीमा राखेर खाएर बाँकी रहेको गाईवस्तुलाई खुवाइन्थ्यो । तर, अहिले स्याउ फलेकोमा जति खुसी छन्, त्यसभन्दा चिन्ता उनलाई स्याउलाई कसरी बजार पु¥याउने भन्नेमा छ । उनको गाउँ सडक सञ्जालसँग जोडिएको छैन । त्यसैले सहज पहुँच पनि छैन । उनले भने, ‘रसुवा, नुवाकोट, काठमाडौंबाट धादिङको विभिन्न स्यानमा सडक सञ्जाल भए पनि हिउँदमा मात्र गाडी चल्छ, धादिङबेँसी तिप्लिङ सडकको नाम सुनेर बुढो हुन लागियो, तर सडक बनेको छैन ।’ तिप्लिङ वा रुबिभ्यालीमा स्याउ फल्छ भन्ने प्रमाणित भएको छ । अब स्थानीय, प्रदेश र सङ्घीय सरकारले स्याउखेती विस्तारमा ध्यान दिनुपर्ने उनको सुझाव छ । रुबिभ्यालीमा स्याउखेती गर्नुपर्ने काम खुला चरिचरन बन्द गर्नुपर्ने, स्याउको बिरुवामा अनुदान दिनुपर्ने, प्राविधिक सेवा तथा टेवा निःशुल्क गराउनुपर्ने र निर्माणाधीन धादिङबेँसी–तिप्लिङ सडक स्तरोन्नतिसहित सम्पन्न गर्नुपर्ने कृषक लरेन्स बताउँछन् । अहिले भारतीय र चिनियाँ स्याउ नै नेपालीले उपभोग गरिरहेका छन् । पश्चिम नेपाल र मुस्ताङको स्याउ बजारसम्म पु¥याउन कठिन भइरहेको छ । स्याउ बजारमा पु¥याए पनि एक महिनाका लागि पनि पुग्दैन । नेपालमा स्याउको माग प्रशस्त रहेकाले रुबिभ्यालीमा स्याउ विस्तार गर्न स्थानीय सरकारले प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गरी किसानका बारीमा र सार्वजनिक रूपमा रहेका वनजङ्गल र चरण क्षेत्रमा समेत व्यापक रूपमा स्याउखेती गरेर किसानको जीविकोपार्जनमा सुधार ल्याउन र स्याउमा केही हदसम्म भए पनि आत्मनिर्भर हुने स्थानीय सरकारले अगुवाइ गर्न ढिलो गर्न नहुने देखिन्छ ।
त्यसैगरी, चीनसँग सिमाना जोडिएको हिमाली जिल्ला रसुवामा स्याउखेतीका लागि उपयुक्त हावापानी हुँदाहुँदै र स्थानीय स्याउखेती गर्न उत्साहित भए पनि सरकारी निकायको उदासीनताले व्यावसायिक रूपमा स्याउखेती हुन सकेको छैन । ०४० देखि ०५० को दशकसम्म रसुवामा स्याउको उत्पादन राम्रै हुन्थ्यो । त्यतिबेला रसुवामा उत्पादित स्याउ नुवाकोट हुँदै काठमाडौंको बजारसम्म पुग्थ्यो । बिस्तारै स्याउ फल्ने गोल्जुङ भार्खु क्षेत्रमा स्याउखेती गरिरहेका किसानले उपयुक्त प्राविधिक परामर्श र प्रविधि नपाउँदा बिस्तारै विस्थापित हुँदै गए । त्यसपछि रसुवामा स्याउ फलेको थियो रे भन्नुपर्ने अवस्था आएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । विगतमा रसुवामा फलेको स्याउको दाना एकैनासको र हेर्दा नराम्रो देखिए पनि स्वादिलो हुने हुँदा स्याउका पारखीहरूले खोजीखोजी लैजाने गरेको उनले स्मरण गरे ।
अहिले रसुवावासी जिल्लामा स्याउ फल्न थालेको खबर सुनेपछि दङ्ग हुँदै स्याउको खरिदमा तँछाड–मछाड गर्दै छन् । जिल्लामै विगतमा स्याउ फलेको सुनेका युवा अहिले गोसाइँकुण्ड गाउँपालिका– ६ नागुङमा स्याउ फलेको सुन्दा दङ्ग छन् भने हाकु, भार्खे, चिलिमे, गत्लाङ, पार्वतीकुण्ड क्षेत्रका किसान स्याउखेती गर्न उत्प्रेरित भइरहेका छन् । नागुङका दुई दाजुभाइ निमा दावा र ग्यालदोर्जे तामाङले आफ्नो भिरालो जग्गामा रोपेको फुजी, गाला, गोल्डेन प्रजातिका स्याउ गत वर्षदेखि उत्पादन भइरहेको छ । दुई दाजुभाइले ०७० मा दोर्जे कृषि फर्म दर्ता गरेर सुरुसुरुमा त परम्परागत रूपमा नै सामान्य खेती गरिरहेकामा ०७७ मा स्याउको बिरुवा प्रदेश सरकारबाट ५० प्रतिशत अनुदानमा एक हजार बिरुवा रोपेका थिए । उनीहरूले रोपेको बिरुवामा दोस्रो वर्षमै बोटले थाम्न नसक्ने गरी स्याउ फल्यो । स्याउ फलेर पाक्न थालेपछि उनीहरूले छरछिमेकी, गाउँले र स्थानीय बजारको माग पु¥याउनै सकेनन् । स्याउको माग बढेपछि उत्साहित बनेका उनीहरूले तेस्रो वर्ष गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा चार सय २१ बोट स्याउका थप बिरुवा लगाएका थिए भने यसपालि पनि दुई सय ६५ स्याउका बोट थप लगाएका छन् । बिरुवा लगाएको चार वर्ष भयो, तर फल्न थालेकोचाहिँ तीन वर्ष भयो । फुजी र गोल्डेनको दुई सय ७० र गाला प्रजातिलाई तीन सय रुपैयाँ प्रतिकेजीमा बिक्री गरिरहेका उनीहरूले यस वर्ष तीन हजार किलो बेच्ने लक्ष्य राखेका छन् । यस वर्ष आम्दानी आठ लाखको हाराहारीमा हुने कृषक ग्याल दोर्जेले बताए । स्याउका अलावा गोलभेँडा, सागसब्जी, बन्दा, काउली सिजनअनुसारको अन्य हरिया तरकारी फलाउने गरेका उनीहरूले यो सिजनमा गोलभेँडा बेचेर ६० हजार रुपैयाँ कमाउने लक्ष्य बनाएका छन् । साग, बन्दा, काउलीबाट १५ देखि १६ हजार, आलु ३० मुरी फलेको र यसबाट ६० हजार आम्दानी हुनेसमेत कृषक दोर्जेले बताए ।
सदरमुकामबाट चार किलोमिटरको दूरीमा रहेको नागुङ गाउँका यी दुई दाजुभाइ पढाइमा साक्षर मात्रै हुन् । डिग्रीको सर्टिफिकेट नभए तापनि मिहिनेत र परिश्रमबाट मनग्य आम्दानी गरिरहेका छन् । ‘अहिले पो सडक सञ्जालले जोडियो, समय परिवर्तन भयो । उतिबेला भिरपाखा तीनदेखि चार घण्टाको समय लाग्दथ्यो । सदरमुकाम धुन्चेको स्कुलसम्म पुग्न गाह्रो थियो । गाउँकै स्कुलमा अक्षर चिनियो, तर खेतीपाती वस्तुभाउ भएपछि स्कुल जाने मौका मिलेन,’ दाजुभाइ दुःखेसो पोख्दछन् । घरायसी दुःखले विदेश पनि गइयो, जग्गाजमिन धेरै भए पनि आम्दानी नहुने, विदेश गए पनि केही भविष्य नदेखेर आफ्नो गाउँ फर्केर पुनः कृषि पेसा अँगालेर अहिले राम्रो आम्दानी भएकोमा उनीहरू दङ्ग छन् । सुरुमा त स्याउखेतीबाट आम्दानी डेढ लाख थियो । दोस्रोमा पाँच लाखको हाराहारीमा थियो भने अहिले आठ लाखभन्दा माथिको लक्ष्य लिएको बताउँछन् । दुःख गर्न त जहाँ पनि पर्छ, सुख रुखमा फल्दैन, त्यसैले हामी दुई दाजुभाइ आफ्नो जग्गालाई सदुपयोग गरेर यहीँ अमेरिका, जापान, अस्ट्रेलिया, मलेसिया देखिरहेको बताए । गोसाइँकुण्ड गाउँपालिका– ५ ब्राबलमा पनि समूहगत र व्यक्तिगत रूपमा अहिले स्याउखेती सुरु गरिएको छ । ब्राबलमा फलेको स्याउ लिन व्यापारी बारीमा आउने गरेको स्थानीय डिण्ढुप तामाङले बताए ।