बाजुराका विद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा
बाजुरा,भदौ १४ । बाजुराको दुर्गम गाउँ बस्तीका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ।
बुढीनन्दा नगरपालिका–९, सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायाले विद्यालयमै खाजाको व्यवस्था भएपछि खाजाका लागि घर जानुपर्ने बाध्यता हटेको बताए।
उनले भने, “घरमा खाजा खान गएको बेला विद्यालयमा आउँदा पढाइ छुट्ने गथ्र्यो। अहिले विद्यालयमै खाजा मिल्न थालेपछि सबै विषय पढ्ने मौका मिलेको छ।”
बुढीनन्दा नगरपालिका–९ स्थित सिद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक तुला रावतले विद्यालयमै मिठो र पोषिलो खाजा खान पाउने आसले पछिल्लो समय बालबालिका नियमित विद्यालयमा आउन थालेकाले विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको बताए ।