‘बेरुजु न्यूनीकरण अनिवार्य दायित्व सम्झिनू’
वीरेन्द्रनगर,भदौ १३। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेश अन्तर्गतका कार्यालयका प्रमुख र लेखा प्रमुखहरूलाई बेरुजु घटाउने अभियानमा लाग्न निर्देशन दिएका छन् । आइतवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको ‘बेरुजु व्यवस्थापनसम्बन्धी पुनर्ताजगी कार्यशाला’मा मन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् ।
बेरुजु न्यूनीकरणलाई अनिवार्य दायित्वको रूपमा लिन उनले कर्मचारीहरूलाई निर्देशन दिए । ‘सबैले आफ्नो जिम्मेवारी मनन गरेर काम गर्ने हो भने बेरुजुको समस्या समाधान हुन्छ,’ उनले भने ।
प्रतिशतका हिसाबले सात प्रदेशमध्ये कर्णाली प्रदेशको बेरुजु धेरै देखिएको भन्दै मन्त्री सिंहले आर्थिक अनुशासन पालनामा दत्तचित्त भएर लाग्न कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई आग्रह गरे । ‘सरकार र राष्ट्रसेवक कर्मचारी जिम्मेवार र जवाफदेही बन्यौं भने बेरुजुको समस्या सहजै अन्त्य गर्न सकिन्छ,’ उनले भने, ‘आर्थिक अनुशासन र सुशासन कायम गर्ने तपाईं, हामी सबैको दायित्व हो । अपजश खेप्नुपर्ने अवस्था आउन नदिन सजग हुनुहोला । यसमा प्रदेश सरकारले सहजीकरण गर्नेछ ।’
मन्त्री सिंहले नियमित बेरुजु धेरै रहेकाले यसलाई समयमै फछ्र्योट गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । असुलउपर गर्नुपर्ने बेरुजुलाई असुल गर्न र पेश्की फछ्र्योटमा ध्यान दिन उनको आग्रह थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हाल कर्णाली प्रदेश सरकारको बेरुजु ४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।
कार्यक्रममा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कायममुकायम सचिव दीर्घबहादुर पोखरेलले अघिल्ला कार्यालय प्रमुखका पालामा रहेको बेरुजु अहिलेका प्रमुखले जिम्मेवारी लिएर फछ्र्योट गराउन लागिपर्नुपर्ने बताए । ‘विगतको बेरुजु फछ्र्योट गर्ने जिम्मेवारी र दायित्व हाम्रो हो भन्ने सोच्नुपर्यो,’ उनले भने । कार्यशालापछि एउटा प्रयोगात्मक कार्ययोजना बनाउने र बेरुजु व्यवस्थापनका सम्बन्धमा छलफल गरिने प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले बताए ।