भैरहवाबाट दिल्ली र हङकङमा पनि उडान शुरु, पहिलो उडान नै यात्रुबिनाको !



भैरहवा,भदौ १३ । नेपाल वायुसेवा निगमले आजबाट भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान शुरु गरेको छ । आजबाट शुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान शुरु गरेको हो । 

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौं हुँदै दिल्ली र हङकङको उडान शुरु गरिएको हो । 

आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए । हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ । 

महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिए । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुला गरेको थियो । 

निगमले मलेसिया–भैरहवा रुटमा गत जेठ ३० गतेबाट उडान शुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ ओटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो । रासस

प्रतिक्रिया दिनुहोस्