अस्पतालबाट भाग्दाभाग्दै जन्मियो बच्चा
प्रजनन तथा प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा एक महिलाले बाटैमा बच्चा जन्माएकी छिन् । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१, काँडा जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले बच्चा जन्माएको परिस्थिति र परिवेश कहालीलाग्दो छ।
घर फर्किने क्रममा बाजुराको बुढीगङ्गा नगरपालिका–१० को सडकमा बच्चाको टाउको बाहिर निस्केर महिला छटपटिएको देखेपछि आफूले आवश्यक कुनै सामग्रीबिना नै जन्मन नसकेर अड्केको बच्चालाई सडकमै निकालेको अनमी सिर्जना सार्कीले बताइन् ।
उनले भनिन, “कार्यालयतर्फ जाँदै थिएँ, महिला छटपटिरहेको देखेँ। हेर्दा त सुत्केरी हुन लागेको अवस्था रहेछ, स्वास्थ्यकर्मी नभएको भए आमा वा बच्चामध्ये एक नरहने अवस्था थियो, धन्न दुवै बँचे। उनले छोरीलाई जन्म दिएकी हुन् ।”
बाटैमा छोरीको जन्म भएपछि स्थानीय सेलापाठा स्वास्थ्य एकाइमा राखिएको र हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। “कतै रक्तस्राव भएमा वा केही अप्ठ्यारो होला कि भनेर म पनि यतै बसेकी छु,” अनमी सार्कीले भनिन् ।