३२ वर्षअघि तराई झरेका नेपाल गाउँ फर्किएर ४३ रोपनी जग्गामा कृषि कर्म गर्दै, वार्षिक लाखौंको आम्दानी



भोजपुर,भदौ १२ । बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनः कृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिन्छन् । विसं २०४७ मा विराटनगर बसाइँ गएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पुन भोजपुर फर्किएका थिए ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले कृषि कर्ममा लागि परेको बताउँछन् । दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गराएर नेपालले अहिले कागती, ड्रागन फलको खेती गर्दै आएका छन् । ती खेतीबाट नेपालले वार्षिक लाखौं रुपैया आम्दानी पनि गरिरहनु भएको छ । किसान नेपाल आफू कागती खेतीको विस्तारमा जुटेको बताउँछन् ।

कागतीको बजार पनि राम्रो हुने भएकाले आफू कागती खेतीको विस्तारमा लागेको नेपालले बताए । उनले लगाएको एक बोट कागतीको बोटमा एक हजारसम्म कागती उत्पादन हुने गरेको छ । कागतीसहित किसान नेपालले ड्रागन खेतीसमेत गर्दै आएका छन् ।

उनले गरेको ड्रागन खेती देखेर अहिले भोजपुरमा यसतर्फ किसानको आर्कषणसमेत बढदै गएको छ । धान फलिरहेको खेतीयोग्य जमिन मासेर आफूले कागतीखेती थालेको नेपालको भनाइ रहेको छ । करिब ४३ रोपनी जग्गामा  नेपालले अहिले कृषि कर्म गर्दै आएका छन् । करिब हजार बोटले कागतीको फल समेत दिन थालिसकेका छन् ।

“बजारमा कागतीको माग राम्रो छ यसका लागि भोजपुरको हावापानी पनि राम्रो छ, कागतीको बिरुवाको समेत माग हुँदै आएकाले अबका दिनमा कागतीको बिरुवासमेत उत्पादन गर्ने मेरो योजना छ” नेपालले भने । उनले कागतीसँगै ड्रागन फलको बिक्रीबाट समेत राम्रो आम्दानी लिँदै आएका छन् । किसान नेपालले वार्षिक रु १५ लाख भन्दाबढी आम्दानी गरिरहेको अनुभाव छ ।

बसाइँ गइसकेकाले गाउँमा फर्किएर पुनः व्यवसाय शुरू गर्दा धैरेले विश्वास नगरेको बताउने नेपालकै प्रेरणाले अहिले अरु किसान पनि पनि ड्रागन फलको खेतीतिर आकर्षित भएका रामप्रसाद राई गाउँपालिकाका घमचन्द्र दाहालले बताए । दाहालले भने, “यस्ता किसानलाई प्रोत्साहन गर्न सकिएमा नयाँ किसानलाई पनि हौसला मिल्छ, यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।”

 

प्रतिक्रिया दिनुहोस्