पाम, भटमास र सूर्यमुखी तेलको निराशाजनक निकासी: किन खस्किँदै छ खाने तेलको व्यापार ?
काठमाडौं,भदौ ९ । नेपालबाट निर्यात हुने खाने तेल (पाम, भटमास र सूर्यमुखी) को निर्यात निरन्तर घटिरहेको छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा रहेको प्रशोधित खाने तेलको निर्यात सुखद देखिएको छैन । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा रहेको पाम, भटमास र सूर्यमुखी तेलको निकासी भने ओरालो लागेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले खाने तेलको निर्यात परिमाण खस्क्दिो छ ।
पहिलो महिनामै पाम नेपालको निर्यात ३ अर्ब ३१ करोड रुपैयाँ बढीले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा ४३ करोड २० लाख रुपैयाँ बराबरको पाम तेल नेपालले निर्यात गरेको छ । जुन अघिल्लो वर्षको समीक्षा महिनाको तुलनामा ८८.४६ प्रतिशतले कमी हो । अघिल्लो वर्षको साउनमा ३ अर्ब ७४ करोड २७ लाख रुपैयाँ बराबरको पाम निर्यात भएको थियो । गत वर्षभर कुल २० अर्ब ५० करोड ९१ लाख रुपैयाँ बराबरको पाम तेल नेपालबाट बाहिरिएको थियो ।
यस्तै, सूर्यमुखी तेलको निकासीमा पनि ३९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा ७ करोड ९१ लाख रुपैयाँ बढीको सूर्यमुखी तेल निर्यात भएकोमा चालु आवको सोही महिनामा भने ४ करोड ८३ लाख रुपैयाँमा झरेको छ। गत वर्षभर ४४ करोड १८ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेलको निकासी भएको थियो ।
यता, भटमास तेलको निर्यात पनि उत्तिकै निराशाजनक देखिएको छ । अघिल्लो वर्षको साउनमा १ अर्ब ५९ ६२ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको थियो । तर, चालु आवको पहिलो महिनामै १४ हजार रुपैयाँ मात्रैको यस्तो तेल नेपालले निर्यात गरेको छ ।
नेपाली व्यवसायीहरूले मलेसिया, इन्डोनेसिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ गर्दै आएका छन् । यता, अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरी प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । कच्चा पदार्थ ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड गरिदैं आइएको छ ।
भारतमा पहिला यी दुवै वस्तु अन्य देशमा आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शून्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । फलस्वरूप अन्य देशभन्दा नेपालबाट आयात गर्दा सस्तो पर्दथ्यो । सोही कारण नेपालबाट यी दुई वस्तुको निर्यात बढी हुने गरेको छ । तर, पछिल्लो पटक भारतले अन्य देशबाट पाम र भटमास तेलको आयात गर्दा लाग्ने भन्सार दर ५ प्रतिशतमा झारेको छ । त्यो अवस्थामा नेपालबाट भन्दा अन्य देशबाट नै पाम तेल र सोयाविन तेल आयात गर्दा भारतलाई सस्तो पर्दछ । सोही कारण पछिल्लो समय पाम तेल र भटमास तेलको निर्यात घटेको व्यवसायीहरू बताउँछन् ।
तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी भारतमा बिक्री गर्दा लागत बढी हुन्छ र मूल्य पनि स्वतः बढी हुन्छ । यी यस्ता कारणले पछिल्लो समय यसको निर्यात घट्न थालेको उनीहरूको भनाई छ । कच्चा पदार्थको आयातमा भारत सरकारले भन्सार महसुल शून्य बनाएको छ । योसँगै पाम, सूर्यमुखी र भटमास तेलको निर्यातमा कमी आएको हो । भारतले पाम, भटमास र सूर्यमुखी तेल भारतको निरुत्साहन नीतिकै कारण एकाएक ओरालो लागेको बताइन्छ ।
अघिल्लो वर्षहरूमा पाम र भटमास तेल नेपालको निर्यात सूचीको पहिलो र दोस्रो नम्बरमा थिए । तर, पछिल्लो समय निरन्तर घट्दै आएको निर्यातसँगै यसको हिस्सा पनि ओरालो लाग्दै आएको छ । ठुलो मात्रामा निर्यात हुने वस्तुको निर्यात खस्किदा नेपालको कुल निर्यात समेत धक्का लागेको छ।
चालु आवको पहिलो महिनामा नेपालको कुल वस्तु निर्यात नै ८.६५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । गत आवको साउनमा नेपालबाट १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको कुल वस्तु निर्यात भएको थियो । तर, यस वर्षको सोही महिनामा भने १ अर्ब २८ करोड १० लाख रुपैयाँले कमी हो । चालु आवको पहिलो महिनामा नेपालबाट कुल १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
समीक्षा महिनामा नेपालको आयात पनि २ अर्ब ४ करोड रुपैयाँले घटेर १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँमा झरेको छ । नेपालले एक महिनामै १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्योहोरेको छ ।