साउनमा १ खर्ब १५ अर्बमा खुम्चियो व्यापार घाटा



काठमाडौं,भदौ ७ । चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको छ । 

भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार व्यापार घाटा गत आर्थिक वर्षको साउनको तुलनामा ० दशमलव ६६ प्रतिशतले कम भएको हो । गत वर्षको सोही अवधिमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ थियो ।

साउनमा आयात घटेसँगै व्यापार घाटा घटेको हो । नेपालको व्यापारमा निर्यातको तुलनामा आयातको हिस्सा निकै उच्च छ । त्यही कारण आयात घट्दा व्यापार घाटा पनि घट्ने गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आवको साउनको तुलनामा चालू साउनमा आयातमा १.५६ प्रतिशत कमी आएको छ । चालू आवको साउनमा कुल १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको सामान आयात भएको विभागले जनाएको छ । 

साउनमा आयातसँगै निर्यात पनि घटेको छ । विभागका अनुसार गत आवको साउनको तुलनामा यो आवको साउनमा निर्यातमा ८.६५ प्रतिशत कमी आएको छ । यो आवको साउनमा १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्