माग अनुसार आपूर्ति नहुँदा नहुँदै पनि कसरी भारत पुग्यो ६७० मेट्रिक टन नेपाली टमाटर ?
काठमाडौं,भदौ ६ । अहिले नेपाली बजारमा गोलभेँडा अर्थात् टमाटरको अभाव नै छ । सोही अभावका कारण टमाटरको मूल्य पनि अस्वाभाविक रूपमा बढेको छ ।
गत असारमा किसानले प्रतिकेजी २ रुपैयाँमा दिन्छु भन्दा पनि बिक्री नभएको टमाटरको बिक्री मूल्य अहिले प्रतिकेजी दुई सय रुपैयाँ हाराहारी पुगेको छ ।
सरकारले सञ्चालन गरेको कालीमाटी तरकारी बजारमा बुधवार अर्थात् भदौ ६ गते ठुलो नेपाली टमाटर प्रतिकेजी १०० रुपैयाँदेखि १२० रुपैयाँसम्ममा बिक्री भएको छ । तर, खुद्रा व्यापारीहरुसंग पुग्दा भने यसको भाउ अझै महँगो हुने गरेको छ। आजैका मितिमा भने टनेलमा उत्पादित नेपाली टमाटरको भाउ ६३ रुपैयाँदेखि ८० रुपैयाँमा बिक्री भएको छ भने लोकल टमाटर प्रतिकेजी ६० रुपैयाँसम्ममा बिक्री भएको छ ।
माग अनुसार टमाटर आपूर्ति भएको छैन । तर, यसै अवधिमा सोही टमाटर भारतमा निर्यात गरेर थप अभाव सिर्जना गरिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । अहिले भारतमा पनि टमाटरको अभाव छ । त्यहाँ टमाटर प्रतिकेजी २५० भारु सम्म पुगेको छ । त्यही मौकामा अहिले भारततर्फ टमाटर निर्यात भइरहेको छ । एक महिनामै ६७० मेट्रिक टन टमाटर निर्यात भएको सरकारी आँकडाले नै देखाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै नेपालबाट ६ लाख ७० हजार ५२० केजी टमाटर भारत निर्यात भएको छ । समीक्षा महिनामा ८७ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको नेपाली टमाटर भारतीय बजारमा पुगेको छ । नेपाली बजारमा भने माग अनुसारमा टमाटर छैन । कालीमाटी बजारलाई नै दैनिक ६५/७० टन टमाटर आवश्यक हुन्छ । तर, हाल ४० टनसम्म मात्रै टमाटर आउने गरेको समितिले जनाएको छ ।
नेपालमा उत्पादित ७० प्रतिशतभन्दा बढी टमाटर भारत निर्यात भएको समितिको भनाई छ । यसबाट निश्चित व्यवसायी तथा किसानलाई आर्थिक रूपमा फाइदा भए पनि स्वदेशी माग धान्न भने चुनौती सिर्जना भएको छ । समितिका एक अधिकारीले भने,–‘अहिले नेपाली टमाटर भारतीय बजारमा पुगेको देखिन्छ । भारतमा अहिले मूल्य वृद्धि भएको छ, किसानहरूले जता मूल्य बढी पाउँछन् उतै पठाउँछन् । नेपाली बजारमा अभाव सृजना गरी मूल्य पनि बढाएका छ । यहाँ उत्पादित करिब ७० प्रतिशत टमाटर भारत निर्यात भएको छ ।’
नेपालमाको व्यापार घाटा कम गर्न पनि केही योगदान पुगेको होला । तर, सोही कारण पनि नेपालमा टमाटरको अभाव थप सिर्जना गरिएको छ । समीक्षा महिनामा ३८ हजार ९५० केजी भारतीय टमाटर आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । साउनमा ९ लाख ८९ हजार रुपैयाँ बराबरको टमाटर नेपालले भारतबाट आयात गरेको हो ।