भारतले निर्यात कर लगाएपछि बजारमा प्याज हाहाकार, दुई दिनमा किलोमा ३५ रुपैयाँ वृद्धि !



काठमाडौं,भदौ ६ । भारतले निर्यात कर लगाएसँगै नेपालमा प्याजको हाहाकार भएको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले मंगलवार कालीमाटीमा प्याज नभएको बताएको छ ।

प्याज नभएको भन्दै समितिले मंगलवार यसको मूल्य तोकेको छैन । समितिले हरेक दिन तरकारी तथा फलफूलको मूल्यसूची राख्ने गरेको छ । कालीमाटीका तरकारी व्यापारीहरूले पनि आफूहरूसँग प्याज नभएको बताएका छन् ।

उपत्यकाका विभिन्न स्थानमा प्याज आपूर्ति गर्दै आएको कालीमाटीमै प्याज अभाव भएपछि प्याज मौज्दात राखेका उपत्यकाका अन्य क्षेत्रका व्यापारीले मनपरी मूल्य लिन थालेका छन् । गत आइतवार प्रतिकिलोे ६० रुपैयाँमा प्याज किनेका उपभोक्ता मंगलवार किलोकै ९५ रुपैयाँसम्म तिर्न बाध्य भए । 

काठमाडौंको किलागलमा मंगलवार प्याज प्रतिकिलो ९५ रुपैयाँमा किनेको उपभोक्ता बताउँछन् । यस आधारमा पछिल्लो दुई दिनमा प्याजको मूल्य ३५ रुपैयाँ बढेको छ । गत सोमवार भने व्यापारीले प्याज किलोको ८० रुपैयाँसम्म बेचेका थिए । 

मनपरी मूल्य लिएको भन्दै बजार अनुगमन समितिले सोमवार (हिजो) ५ जना व्यापारीलाई कारबाही गरेको थियो । यस्तै, ४ जनामाथि अनुसन्धान थालेको थियो ।  

भारतले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्