मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ हजारभन्दा बढीको आवेदन रद्द



काठमाडौं,भदौ ४ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको  कार्यालयमा आइतवार आईपीओ बाँडफाँट भएको हो । गोलाप्रथाबाट भएको बाँडफाँटमा भाग्यमानी २ लाख २७ हजार ६६२ जना आवेदकहरूले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

कम्पनीले सर्वसाधारणमा साउन २८ देखि ३१ गतेसम्म आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र १३ लाख १६ हजार ५२९ जना आवेदकहरूले १ करोड ४३ लाख ६ हजार ७९० कित्ता शेयर खरीदका लागि आवेदन दिएका थिए। कुल आवेदकहरूमध्ये १३ लाख ११ हजार ५१७ जनाको मात्र आवेदन रितपूर्वक भएको तथा  रितपूर्वक नभएका ५ हजार १२ जनाबाट प्राप्त ८२ हजार ७० कित्ता शेयर खरीद आवेदन रद्द गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।  योग्य आवेदकहरूमध्ये १० लाख ८३ हजारभन्दा बढी आवेदकहरूको हात खाली भएको छ ।

सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नुअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली , आयोजना प्रभावित स्थानीय, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रूपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो ।  स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयर समेत जोडेर सर्वसाधारणमा विक्री गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको हो । यी वाहेक ४० हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको हो । सर्वसाधारणमा २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ विक्री तथा बाँडफाँट गरिएको हो ।

यस कम्पनीले दोलखा जिल्ला जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाबाट कम्पनीले २०७७ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।  आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रूपैयाँ रहेको छ । अधिकृत पूँजी ८० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ८० करोड रूपैयाँनै छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरूबाट चुक्ताभएको पूँजी भने ५२ करोड रूपैयाँ छ । सर्वसाधारणमा समेत शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ कायम भएको छ । कम्पनीमा हाल संस्थापक तर्फ ६५ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

प्रतिक्रिया दिनुहोस्