दुई वर्षभित्र सबै जनताको पहुँचमा विद्युत पुर्याउने सरकारको लक्ष्य
काठमाडौं,भदौ १ । सरकारले आगामी दुई वर्षमा सबै जनताको पहुँचमा विद्युत पुर्याउने लक्ष्य लिएको छ । विद्युत प्राधिकरणले ३८ औं वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विद्युत सेवा पुर्याउने लक्ष्य रहेको बताए ।
कार्यक्रममा उनले अहिले राष्ट्रिय ग्रिडको पहुँचमा करीब ९५ प्रतिशत जनता रहेको र लघु एवं सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनाताले विद्युत सेवा प्राप्त गरिरहेको र अबको दुई वर्षभित्र त्यसलाई शत प्रतिशत बनाउने लक्ष्य रहेको बताए ।
‘अहिले हामी आन्तरिक माग पूरा गर्ने र विद्युत निर्यात गर्ने चरणमा प्रवेश गरेका छौं । त्यसैले आगामी वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने योजनामा हामी छौं,’ उनले भने ।
आर्थिक वर्ष २०७८/७९ मा ४९ करोड युनिट विद्युत भारत निर्यात गरेको प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ३४ करोड युनिट विद्युत निर्यात गरेको छ ।