चर्कियो बजार महँगी, चुक्यो सरकार !



काठमाडौँ,भदौ १ । बजार महँगी नियन्त्रणमा सरकार चुकेको छ । गत वर्ष मूल्य वृद्धि सरकारको लक्ष्यभन्दा माथि पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतभन्दा कम राख्ने लक्ष्य लिएको थियो । तर, सरकारलेको लक्ष्य अनुसार बजार नियन्त्रण हुन् सकेन । गत वर्ष मूल्य वृद्धि ७.७४ प्रतिशत पुगेको छ । 

नेपाल राष्ट्र बैङ्कले शुक्रवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आसिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो । राष्ट्र बैङ्कका अनुसार गत वर्षको साउनदेखि असार सम्म आउँदा कुनै पनि महिनामा लक्ष्यअनुसार मूल्यवृद्धि नियन्त्रण नभएको राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिन्छ । 

आयातमा केही सङ्कुचन र रेमिट्यान्स वृद्धि हुँदा बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । तर, चालु खाता घाटामा पनि उल्लेख्य सुधार भएको छ । गत वर्ष  आयात १६.१ प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाह पनि २१ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, समीक्षा वर्षमा सोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि २ खर्ब ९० करोड ५२ अर्ब रुपैयाँले बचतमा छ । यता, विदेशी विनिमय सञ्चिति पनि २६.६ प्रतिशतले वृद्धि भइन १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । 

तर, पनि थप बजार महँगी भने आकासिएको देखिन्छ । बजार महँगी वृद्धि भएपछि सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले व्यावहारिक अर्थतन्त्रको निर्माण गर्न नसक्दा पनि मूल्य वृद्धिदर नियन्त्रण बाहिर पुगेको छ । यसका साथै उपभोक्ता हितका लागि पनि सरकारले काम सकिरहेको छैन, जसका कारण महँगीले सर्वसाधारणको ढाड सेकेको छ ।

बिशेषगरि पेट्रोल र डिजेल जस्ता इन्धनको मूल्य बढ्दा पनि मुद्रास्फीति वृद्धि भएको हो । इन्धनको मूल्य बढ्दा बस्तुको ढुवानी खर्च स्वतः खर्च बढ्छ । आयात गरिने वस्तुको पनि लागत बढ्छ । साथै, इन्धनमा आधारित उद्योगहरूको लागत पनि बढ्छ । यसरी इन्धनको मूल्य बढ्दा महँगी पनि बढ्छ । सोही अनुरूप विगतमा इन्धनको मूल्य बढ्दै जाँदा महँगी पनि बढ्दै गइरहेको राष्ट्र बैङ्कका अधिकारीहरू बत्ताउँछन् ।

गत वर्ष हरेक महिना मूल्यवृद्धि ७ प्रतिशत भन्दा माथि नै छ । गत साउनदेखि कात्तिकसम्म मूल्यवृद्धि ८ प्रतिशत भन्दा माथि थियो । त्यस यता भने मूल्यवृद्धि ७ प्रतिशतदेखि ८ प्रतिशतको बिचमा रहेको छ । औसतमा नेपालीहरूले वार्षिक ७.७४ प्रतिशतको महँगी खेपी रहेका हुन् ।

तथ्याङ्कअनुसार गत आवको पहिलो महिनामा मूल्यवृद्धि ८.२६ प्रतिशत रहेको थियो । भदौ महिनामा बढेर ८.६४ प्रतिशत पुगेको छ । गत असोज महिनामा भने झिनो घटेर ८.५० प्रतिशतमा झरेको देखिन्छ । यस्तै, कात्तिकमा मूल्यवृद्धि ८.०८ प्रतिशत, मङ्सिरमा ७.३८ प्रतिशत र पुसमा ७.२६ प्रतिशत कायम भएको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, गत आवको माघ मसान्तसम्म आइपुग्दा भने मूल्यवृद्धि ७.८८ प्रतिशत, फागुनमा ७.४४ प्रतिशत र चैतमा ७.७६ प्रतिशत पुगेको छ । चैतपछिको दुई महिनामा भने केही नियन्त्रण भएको तथ्याङ्कले देखाउँछ । गत वैशाखमा मूल्य वृद्धि ७.४१ प्रतिशत र जेठ महिनामा ६.८३ प्रतिशत रहेको थियो । तर, पछिल्लो एक महिनामै शून्य दशमलव ९१ प्रतिशतले मूल्यवृद्धि थप बढेको छ । 

गत आव २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको ८.६५ प्रतिशत रहेको छ । गत असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । अघिल्लो असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो।

गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरूमा यस्तो मुद्रास्फीति क्रमशः ५.७३ प्रतिशत, ६.४१ प्रतिशत, ६.८७ प्रतिशत र ६.०७ प्रतिशत रहेको थियो।

गत असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.७० प्रतिशत, तराईमा ७.४८ प्रतिशत, पहाडमा ६.९८ प्रतिशत र हिमालमा ८.१९ प्रतिशत रहेको छ । अघिल्लो असार महिनामा उक्त क्षेत्रहरूमा यस्तो मुद्रास्फीति क्रमशः ७.३८ प्रतिशत, ८.३२ प्रतिशत, ८.४१ प्रतिशत र ८.८४ प्रतिशत रहेको थियो।

गत आवमा वार्षिक औसत थोक मुद्रास्फीति ८.४७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ९.५१ प्रतिशत रहेको थियो । गत असार महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.९८ प्रतिशत रहेको छ । तर, अघिल्लो असार महिनामा यस्तो मुद्रास्फीति १२.७४ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्