१४ हजार बढीमा डेंगु पुष्टि, १० सङ्क्रमितको मृत्यु



काठमाडौं,साउन ३२ ।डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १४ हजार ३५७ जनामा पुष्टि भएको छ । १० जना सङ्क्रमितको मृत्यु भएको जानकारी डा. मरासिनीले दिए । 

डा.मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा १० हजार ८१३ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, बागमती प्रदेशमा दुई हजार ९, गण्डकी प्रदेशमा ६०३, सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८९ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् ।

सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा सात हजार ४४९, मोरङमा एक हजार ६७६, धादिङमा एक हजार ३२०, कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१३, काठमाडौंमा १९९, सङ्खुवासभामा १७६, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको छ ।

डेंगु के हो ?

सरुवा रोग विशेषज्ञ डा. विमल चालिसेका अनुसार डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेंगु भाइरसको कारणले यो रोग लाग्ने गर्छ । चालिसेका अनुसार डेंगु भाइरसका चार प्रकारका सेरोटाइप हुन्छन् । एक पटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुनः डेंगु रोग नलाग्ने चालिसे बताउछन्य। तर अन्य सेरोटाइपको भाइरस बाट डेंगु लाग्न सक्छ जुन पहिलो स्वरूपको तुलनामा बढी खतरनाक हुने डा. चालिसेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्