युवाले उद्यमशीलताको नेतृत्व लिनुपर्छ : अर्थमन्त्री
काठमाडौं,साउन ३२। विदेश जानेबित्तिकै सबथोक पाइन्छ भन्ने सोच त्याग्न अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई आग्रह गरेका छन् । स्वदेशमै उद्यमशीलताका लागि युवाले नेतृत्व लिनुपर्नेमा उनले जोड दिएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा राष्ट्र निर्माण मञ्च नेपाल र ‘उद्यमशील युवा, सृजनशील युवा राष्ट्रिय अभियान’ले बुधवार काठमाडौंमा आयोजना गरेको ‘उद्यमशीलता प्रेरणा सम्मेलन’मा अर्थमन्त्री महतले युवालाई स्वदेशमै अवसर खोज्न आग्रह गरे । ‘सूचना प्रविधि (आइटी), पर्यटन, ऊर्जा र कृषि व्यवसायमा अथाह सम्भावना छन्,’ उनले भने, ‘अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुँदा मुलुकमै गर्न सक्ने ठाउँ र अवसर धेरै छन्, युवाले उद्यमशीलताको नेतृत्व लिनुपर्छ ।’
अर्थमन्त्री महतले युवालाई उद्यमशीलतामा सरकारले सघाउने भन्दै गर्दा कार्यक्रममा उपस्थित युवा उद्यमीले भने सरकारले आश्वासन मात्र दिने गरेको बताएका छन् । सम्मेलनमा सहभागी गार्मेन्ट व्यवसायीले मन्त्री तथा अन्य सम्बद्ध अधिकारीले विनाधितो कर्जा दिन्छौं, उद्योग तथा स्टार्टअपमैत्री नीति ल्याउँछौं भनेर घोषणा गरे पनि कार्यान्वयन नभएको बताए । उद्यमशीलतालाई सरकारले नसघाएको पनि उनको भनाइ थियो ।
रामेछापबाट आएका उद्यमी लक्ष्मण केसीले सरकारले काम गर्न सक्ने वातावरण बनाइदिनुपर्ने माग राखे । ‘सहुलियत कर्जा ५ वर्षका लागि बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउँछन्,’ केसीले भने, ‘तर, कतिपय व्यवसायबाट उत्पादन हुनै ५ वर्ष लाग्ने भएकाले यो कर्जा नीति व्यावहारिक छैन ।’ उत्पादन लिन लाग्ने अवधि हेरेर यस्तो सुविधा दिनुपर्ने माग उनले राखे ।
गोरखाकी सरिता परियारले सरकारले उपलब्ध गराउँदै आएको १५ लाख ऋण सहायता अहिले बन्द रहेको बताइन् । यो कार्यक्रमलाई पुन: सुचारु गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘अहिले पनि ग्रामीण भेगका महिलाले आफै फारम भरेर सहुलियत कर्जा लिन सक्दैनन् । त्यसैले सरकार र वित्तीय क्षेत्रका कार्यक्रम व्यावहारिक हुनुपर्छ ।’
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्ला केही वर्षदेखि मुलुकमा युवाले उद्यमशीलता सिकिरहेको र केही प्रगति पनि हासिल गरेको बताए । विद्यालय तह पार गर्नेबित्तिकै युवालाई शीप सिकाइमा जोड्नुपर्ने खाँचो उनले औंल्याए । ‘यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी), समाज कल्याण परिषद्लगायत शीप सिकाउने संस्थासँग युवालाई जोडौं,’ खतिवडाले भने, ‘सरकारी तहबाट भएका प्रयासबाट लाभ लिन सक्ने अवस्था बनाऔं ।’
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले २०७५ सालदेखि युवा उद्यमशीलता कार्यक्रमलाई लक्षित गरेरै १० प्रकारका सहुलियत कर्जा उपलब्ध गराइँदै आएको बताए । यद्यपि बैंकले कर्जा उपलब्ध गराए पनि लगानीबाट पलायन भएको र विनाधितो कर्जा दिँदा त्यसको दुरुपयोग समेत भएको उनको भनाइ छ । कलेजबाट निस्केर केही गर्न चाहने, तर लगानी नहुने, महिला उद्यमी, साना घरेलु उद्यमलाई सघाउने बैंकको नीति रहेको उनले बताए । ‘तर कर्जा दुरुपयोग पनि भएकाले यसरी प्रवाह हुने सहुलियत कर्जा तथा अनुदानको मोडालिटीमा पुनरवलोकनको खाँचो देखिन्छ,’ उनले भने ।
‘उद्यमशील युवा, सृजनशील युवा राष्ट्रिय अभियान’का संयोजक भूपेन्द्रजंग शाहीले आर्थिक समृद्धिका लागि युवालाई उद्यमशीलतामा जोड्न जरुरी भएको बताए । युवाको ऊर्जा र हौसला बढाउन सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ थियो । यो सम्मेलन सातओटै प्रदेश र सबै जिल्लामा लैजाने योजना रहेको जानकारी उनले दिए ।