सूचना प्रविधिमा लगानी गर्नेलाई सरकारले आयकरमा ५० प्रतिशत छुट दिन्छ:  अर्थमन्त्री डा. महत



काठमाडौं,साउन २८ । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. महतले कसैले सूचना प्रविधिमा लगानी गर्न चाहन्छ भने उसका लागि सरकारले ५० प्रतिशत आय कर छुट दिने  निर्णय गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था संजाल (आयोन) ले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उद्यमशिलताको वर्ष भएकोले प्रशस्त उपयोग गर्न पनि युवाहरुलाई आग्रह गरे ।  ‍‍‍’यो युवा उद्यमशीलताको वर्ष हो, यसको प्रशस्त उपयोग गरौँ.’ उनले भने ।

यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले उपयोग गर्नुपर्ने बताए । पछिल्लो समय सूचना प्रविधिमा ठूलो सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री डा. महतले भने, ‘नेपालबाट सप्टवेयर निर्यात गरेर ठूलो मात्रामा विदेशी पैसा नेपाल भित्र्याइरहेका छन् । र, यसका लागि धेरै ठूलो लगानी चाहिँदैन । यसका लागि समर्पण र दक्षता चाहिन्छ ।’

मन्त्री डा. महतले नेपालमै बसेर आईटी बिजनेशलाई विश्व बजारमा फैलाउन चाहिने विदेशी मुद्रा सरकारले उपलब्ध गराउने पनि बताए । ‘हाम्रो सिस्टममा इरर थियो, गरे पनि हुने, नगरे पनि हुने प्रवृत्ति विकसित भइरहेको थियो, त्यसलाई अर्डरमा ल्याउने प्रयास भइरहेको छ । श्रोतको अभावले धेरै कुरा हामीले गर्न चाहेर पनि सकेनौं’, मन्त्री डा. महतले भने, ‘अब हाम्रो अर्थतन्त्र सही बाटोमा हिड्ने छ ।’

महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएको बताए । 

‘देशको ठूलो जनशक्ति विदेशिएकाले यहाँ दक्ष्य जनशक्तिको अभाव सिर्जना भइसकेको छ । यहाँ धेरै अवसर छन्, विदेशमा पढाइ सक्नुभयो भने तुरुन्त नेपाल फर्किन म अनुरोध गर्छु’, मन्त्री डा. महतले भने, ‘नेपालमै छ, प्रशस्त सम्भावना छ, त्यसलाई क्यास गर्नुहोस् ।रोज्न पाउने हाम्रो आधारभूत अधिकार हो, हाम्रो योग्यता, क्षमता, सिर्जना र सम्भावना के गर्दा र कहाँ गएर आपूर्ति हुन्छ, त्यसमा कसैले बन्देज लगाउन मिल्दैन ।’
 

प्रतिक्रिया दिनुहोस्