अस्वभाविक मूल्य बढेपछि नेपालबाट ‘गोलभेँडा’ भारत पठाइएको हो ?
काठमाडौं,साउन २४ । मागअनुसारको उत्पादन तथा आपुर्ति नभएपछि गोलभेडा (टमाटर) को मुल्य अस्वभाविक रुपमा बढेको छ । डेढ महिनाअघि प्रतिकिलो २ रुपैयाँमा पनि बिक्री भएन भनेर किसानहरुले टमाटर सडकमा फालेका थिए । तर, अहिले सोही टमाटरको होलसेल तथा खुद्रा मूल्य उच्च दरमा बढेको हो ।
सरकारले सञ्चालन गरेको कालीमाटी तरकारी बजारमा बुधवार अर्थात् साउन २४ गते ठुलो नेपाली टमाटर प्रतिकेजी १५६ देखि १८० रुपैयाँसम्ममा बिक्री भएको छ । उक्त दिन लोकल सानो टमाटर प्रतिकेजी ७० देखि ८० रुपैयाँसम्म पुगेको छ भने टनेलमा उत्पादन भएको टमाटर भने प्रतिकेजी ८० रुपैयाँदेखि ९५ रुपैयाँमा बिक्री भएको छ । अहिले कालीमाटी बजारमा भारतीय टमाटर भने आएको छैन । खुद्रा बजारमा पसलेहरुले जथाभावी मुल्य बढाएर बिक्री गर्ने गरेको उपभोक्ताहरु बताउछन् । यद्यपि, मंगलबारको तुलनामा भने केही सस्तिएको छ ।
टमाटरको यो मुल्य पछिल्लो डेढ महिनाको तुलनामा उच्च दरमा बढेको देखिन्छ । गत असार १ गते ठुलो नेपाली टमाटर प्रतिकेजी न्यूनतम ३० रुपैयाँदेखि अधिक्तम ४० रुपैयाँसम्ममा बिक्री भएको थियो । ठुलो (भारतीय) टमाटर भने प्रतिकेजी न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँमा बिक्री भएको थियो । सोहीदिन लोकल सानो टमाटर भने प्रतिकेजी न्यूनतम ५ रुपैयाँदेखि अधिकतम ८ रुपैयाँमा बिक्री भएको थियो ।
टनेलको टमाटर भने प्रतिकेजी ८ रुपैयाँदेखि अधिक्तम १२ रुपैयाम टमाटरको होलसेल बिक्री भइरहेको थियो । त्योअनुसार असार १ गते टमाटरको मुल्य सामान्य अवस्थामा थियो । त्यसै बेला नै नेपाली किसानले २ रुपैयाँमा समेत बिक्री भएन भनेर टमाटर सडकमा फालेर आन्दोलन गरेका थिए । तर, अहिले टमाटरको मुल्य अस्वभाविक बढेको छ । आज भन्दा १ महिना अघि असार २४ मा पनि टमाटरको मुल्य बढेर केही माथि आएको थियो । त्यस दिन ठुलो नेपाली टमाटर प्रतिकेजी न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म पुगेको थियो । यसैगरि सानो लोकल टमाटर न्यूनतम २० रुपैयाँदेखि अधिक्तम ३० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको थियो । यता, टनेलको टमाटर भने प्रतिकेजी न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँमा बिक्री भएको थियो ।
विशेषगरि मागअनुसार टमाटर नआउँदा मुल्य अस्वभाविक बढेको कालीमाटी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । ‘यसैपनि यो टमाटर उत्पादन हुने सिजन होइन । त्यसले गर्दा पनि उत्पादन कम छ’– अधिकारी श्रेष्ठले भने ।
१ बर्ष अघि २०७९ साउन २२ मा ठुलो नेपाली टमाटर ५५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म र भारतीय टमाटरको मुल्य प्रतिकेजी ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म थियो । त्यसदिन सानो लोकल टमाटरको मुल्य प्रतिकेजी ३५ देखि ४० रुपैयाँ र टनेलको टमाटरको मुल्य प्रतिकेजी ४२ देखि ४७ रुपैयाँसम्म थियो ।
श्रेष्ठले भने,–‘गत बर्षको अपसिजन अर्थात् यही समयमा पनि टमाटरको मुल्य बढेको थियो । तर, यसरी उच्च दरमा बढेको थिएन । तर, यसपाली अस्वभाविक मुल्य बढेको हो । यसको मुख्य कारण मागअनुसार टमाटर नआएर नै हो ।’ उनका अनुसार कालीमाटी बजारलाई दैनिक ६५ टन टमाटर आवश्यक हुन्छ । उनले भने,–‘अहिले बजारलाई दैनिक ६५ टनसम्म आवश्यक छ । बजार मागको स्थिति पनि यथावत नै छ । हाल ३५ देखि ४० टन टमाटर मात्रै आउने गरेको छ । काठमाडौं उपत्यकामा रहेका अन्य तरकारी बजारमा पनि मागअनुसार टमाटर आएका छैन ।’
बर्षातका कारण ढुवानीमा पनि समस्या भइरहेको छ । भारतीय टमाटर पनि आउन सकेको छैन । पछिल्लो समय भारतमा पनि टमाटरको मुल्य बढेको छ ।
भारतमा यसको मुल्य प्रतिकेजी २०० माथि पुगेको छ । त्यस कारण त्यहाँबाट टमाटर ल्याइएको छैन । त्यसमाथि काठमाडौंमा उत्पादन हुने टमाटर बढी मुल्यमा बाहिरी जिल्लामा जाने गरेको छ । बढी मुल्यको पछि लागेर भारतमा समेत नेपाली टमाटर जान थालेको आशंका समेत गरिएको छ ।
‘किसानरुले जता मूल्य बढी पाउछन् उतै नै पठाउने गरेको छन् । काठमाडौंको उत्पादन, पोखरा, तराईका जिल्लाहरुमा पनि पुगेको छ । नेपाली टमाटर भारत तर्फ गएको पनि भन्ने छ’–एक अधिकारीले भने । नेपालमा उत्पादित ७० प्रतिशत टमाटर भारत गईरहेको स्रोतको भनाई छ । ‘भारतमा गोलभेडाको मूल्य उच्च रुपमा बढेको छ । अहिले नेपाली उत्पादनको करिब ७० प्रतिशत भारतमा पठाएको देखिन्छ । जसले, अस्वभाविक रुपमा मूल्य वृद्धि छ’– एक अधिकारीले बताए ।
गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १ करोड ४९ लाख रुपैयाँ बराबरको टमाटर भारत निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्ष १० लाख ९४ हजार केजी बढी नेपाली टमाटर भारत पुगेको छ।