अस्पतालमा डेंगु सङ्क्रमित बिरामी बढ्दै
पाल्पा,साउन २२ । पाल्पामा डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका विभिन्न स्थानका अस्पतालहरूमा डेंगुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको हो । साउन महिनायता डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कार्यालयका अनुसार पाल्पामा पछिल्लो तीन महिनायता ३३ जना डेंगुबाट सङ्क्रमित भएका छन् । त्यसमध्ये साउन महिनाको हालसम्ममा ११ जना सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूदन भट्टराईले जानकारी दिए ।
पछिल्लो एकसातामा सात जनामा सङ्क्रमण देखिएको उनले बताए । डेंगुबाट सङ्क्रमण हुने क्रम बिस्तारै बढ्दो रहेको भट्टराईले उल्लेख गरे । जिल्ला अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज तथा मिसन अस्पतालमा डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको उनले बताए ।