‘भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव’
विराटनगर,साउन १९ । साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर २ लाख मेट्रिक टन धान आयात गर्नुपर्ने व्यवसायी बताउँछन् ।
उनीहरूले यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन् । गतवर्ष भारतले ६ लाख मेट्रिक टन धान नेपाललाई दिएको थियो । गतवर्षको कोटा साउन १६ गते सकिएको छ । नेपाल चामल–तेल–दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले नेपालमा चामल अभाव हुन नदिन भारत सरकारसँग कूटनीतिक तहबाट अनुरोध गरी तत्काल २ लाख टन धान आयात गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाएका छन् । नेपालको घरेलु माग पूरा गर्न वार्षिक १० लाख मेट्रिक टन धान आयात गर्नुपर्ने दुगडले बताए ।
भारतले नेपालमा मात्रै धान निकासी गर्छ । अन्य देशमा चामल निकासी गर्छ । नयाँ दिल्लीले खाद्यसुरक्षाको जोखिम रहेको भन्दै चामल निकासीमा प्रतिबन्ध लगाएको हो । यो खबर फैलिएपछि नेपालमा चामलको भाउ बढिसकेको छ ।
नेपालको नयाँ धान मङ्सिरमा आउने भएकाले तत्काल २ लाख मेट्रिक टन आयात गर्नुपर्ने दुगड बताउँछन् । ‘भारतबाट चामलभन्दा धान नै आयात गर्दा नेपाललाई फाइदा हुने उनको भनाइ छ । ‘धान ल्याउँदा यहाँका ४० ठूला र ५०० साना धान मिल सञ्चालन हुन्छन्, त्यसले रोजगारी र राजस्वसमेत बढ्छ,’ दुगडले भने । भारतले यसअघि धान निकासीमा २० प्रतिशत ड्युटी लगाएको थियो ।
नेपालमा वार्षिक २५ देखि ३० लाख मेट्रिक टन चामल खपत हुन्छ । कृषि मन्त्रालयका अनुसार गतवर्ष ५५ लाख टन धान फलेको थियो । उक्त वर्ष ३३ अर्ब रुपैयाँको धान/चामल आयात भएको तथ्यांक छ । यसपटक अहिलेसम्ममा पोहोरको तुलनामा २५ प्रतिशतले कम रोपाइँ भएको छ । मौसम राम्रो नभए धान उत्पादन घट्न सक्ने विज्ञहरू बताउँछन् ।
नेपाल चामल–तेल–दाल उद्योग संघले साउन १४ गते प्रकाशित गरेको विज्ञप्तिमा भारतले चामल निर्यातमा रोक लगाएको अवस्थामा नेपालमा अभाव हुन नदिन सरकारले आयातका लागि अविलम्ब कूटनीतिक पहल गर्नुपर्ने प्रस्ताव संघको साधारणसभाले पारित गरेको उल्लेख छ । साधारणसभाले धान आयातमा १ प्रतिशत मात्र महशुल लगाउन माग गर्ने प्रस्ताव पनि पारित गरेको छ । हालसम्म धान आयातमा कृषि सुधार शुल्क ५ प्रतिशत लाग्दै आएको छ । यसले सर्वसाधारणलाई खाद्यान्न महँगो परिरहेको संघको भनाइ छ ।
गतवर्ष भारत सरकारले नेपाल सरकारका अनुरोधमा शून्य महशुलमा ६ लाख टन धान निर्यात गर्न दिने निर्णय गरेको थियो । उक्त ६ लाख टन नेपाल आइसकेको छ ।
गत वर्ष भारतले बास्मती र मोटा–मसिना दुवै प्रकारका उसिना चामलको मात्र निर्यात खुला गरेको थियो । अरुवा (ह्वाइट राइस) चामल निर्यातमा भने २० प्रतिशत महशुल लगाएको थियो । यस वर्ष २० जुलाईमा सूचना प्रकाशित गर्दै बास्मतीबाहेक सबै जातको अरुवा चामल निर्यात बन्द गरेको छ ।