प्रशारण लाइन नहुँदा सवा ३ अर्बको बिजुली गयो खेर, उद्योगधन्दाले पाएनन् पर्याप्त विद्युत्
काठमाडौं,साउन १४ । नेपाल विद्युत् प्राधिकरणले समयमै प्रसारण लाइन बनाउन नसक्दा बर्सातको समयमा पनि जलविद्युत् आयोजनाहरूले ठुलो मात्रामा बिजुली उत्पादन कटौती गर्नु परेको छ । नेपालमा निर्माण भएका अधिकांश जलविद्युत् आयोजनाको समयमा पनि जलविद्युत् आयोजनाहरूले ठुलो मात्रामा बिजुली उत्पादन कटौती गर्नु परेको छ ।
नेपालमा निर्माण भएका अधिकांश जलविद्युत् आयोजनाहरू ‘क्यु ४०’ अर्थात् वर्ष भरीमा केवल ४० प्रतिशत समय मात्रै पूर्ण क्षमतामा उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । त्यो समय भनेको अहिलेको बर्सातको साढे ४ महिना हो । तर यही बेला कम्पनीहरूले विद्युत् उत्पादन कटौती गर्नु परिरहेको छ ।
अहिले करिब ३ सय ३० मेगावाट (मेवा) जडित क्षमताका २० आयोजनाहरू पूर्ण क्षमतामा चल्न पाएका छैनन् । निजी ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अनुसार ती आयोजनाले २० देखि १०० प्रतिशतसम्मै उत्पादन कटौती गर्नु परेको छ । यीमध्ये धेरै आयोजनाहरू लमजुङमा बनेका छन् । त्यसपछि पर्वत, म्याग्दी, मुस्ताङ, धादिङ, तेह्रथुम, दार्चुला, भोजपुर, रामेछाप, कास्की र दोलखाका आयोजनाहरू छन् । मर्स्याङ्दी कोरिडोरको प्रसारण लाइन नबन्दा सर्वाधिक आयोजनाहरूमा प्रभाव परेको छ ।
अहिले पनि अपर स्याङ्गे हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (२.४ मेवा)ले आयोजना तयारी हालतमा आउँदा पनि बिजुली उत्पादन नै गर्न पाएको छैन । अपि पावरले बनाएको नौगढ हाइड्रोपावर (८.५ मेवा) र अपर छ्याङ्दी खोला (४ मेवा)ले अहिले पनि ९० प्रतिशत उत्पादन कटौती गर्नु परेको छ । उनीहरूले क्षमताको केवल १० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । तल्लो मोदी खोला (२० मेवा) वजुली र मध्य मोदी (१८ मेवा)ले पनि ८० प्रतिशत बिजुली खेर फाल्नु परेको छ ।
घलेम्दी खोला (५ मेवा)ले ङ्यादी खोला (३० मेवा)ले ५५ प्रतिशत बिजुली खेर फालिरहेका छन् । अपर मर्दी खोला (७ मेवा), मिस्री खोला (४२ मेवा), सुपर दोर्दी खोला (५४ मेवा), दोर्दी खोला (२७ मेवा), दोर्दी–१ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (१२ मेवा), अपर दोर्दी ‘ए’ (२५ मेवा) र चेपे खोला (८.६३ मेवा) आयोजनाहरूले जडित क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् ।
त्यस्तै, सिप्रिङ खोला (९.६ मेवा), टक्सार पिखुवा खोला (८ मेवा), अपर खोरुङ्गा खोला (७.५ मेवा), आँखु खोला (८.४ मेवा)ले क्षमताको ७० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । उनीहरूको पनि ३० प्रतिशत बिजुली खेर गइरहेको छ । रामेछापको लिखु खोला ‘ए’ (२९.०४ मेवा) ले २९ प्रतिशत मुस्ताङको थापा खोला जलविद्युत् (१३ मेवा)ले २० प्रतिशत उत्पादन कटौती गर्नु परिरहेको छ ।
यी जलविद्युत् कम्पनीहरूले यो सालको बर्खे मौसममा ३ अर्ब २० करोड ७३ लाखभन्दा धेरै घाटा व्यहोर्नु पर्ने अवस्था आएको निजी ऊर्जा उत्पादकहरूले बताएका छन् । यिनैमध्ये १४ आयोजनाले पोहोर पनि १ अर्ब ३६ करोड ९६ लाखभन्दा धेरै घाटा व्यहोर्नु परेको उक्त संस्थाले जनाएको छ ।
ती आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने हो भने प्राधिकरणको प्रसारण संयन्त्रले विद्युतको बहाव थेग्नै नसक्ने अवस्था छ । प्राधिकरणले यसमध्ये केही प्रशारणलाइन साउनभित्रै पुरा गर्ने भने पनि अन्य साना प्रसारण लाइनको समस्या तत्काल हल हुने नदेखिएको इपानका उपमहासचिव प्रकाश दुलालले जानकारी दिए । उनले समयमा प्रसारण लाइन नबन्दा एकातिर जलविद्युत् कम्पनीहरूले बैंकको ऋण तिर्न नसक्ने अवस्था बनेको, अर्कातिर औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परिरहेको बताए ।
पहाडका कन्दराहरूमा उत्पादित बिजुलीलाई तराइका ठुला औद्योगिक क्षेत्र र औद्योगिक करिडोरहरुमा पुर्याउन अधिक भार वहन क्षमताका ठुला प्रसारण लाइनको जरुरत पर्छ । तर विद्युत् प्राधिकरणले हेटौँडादेखि ढल्केबर हुँदै इनरुवा जोड्ने उच्च क्षमताको प्रसारण लाइन बनाउन थालेको दशक नाघिसकेको छ ।
हेटौँडादेखि भरतपुर हुँदै बर्दघाट जोड्ने अर्को ठुलो प्रसारण लाइनको काम पनि १०–१२ वर्षदेखि अड्किइरहेको छ । मध्येम क्षमताका प्रशारणलाइनमा पनि उस्तै समस्या छ । कालिगण्डकी कोरिडोर, मर्स्याङ्दी कोरिडोर, खिम्ति कोरिडोरका प्रसारण लाइन र सब स्टेशनहरुको निर्माण तथा स्तरोन्नतिका काम रोकिएका छन् ।
पर्याप्त प्रशारणलाइन नहुँदा एकातिर जलविद्युत् कम्पनीहरूले बिजुली उत्पादन गर्न सकेका छैनन् । अर्कातिर न त देशभित्र अघोषित लोडसेडिङ रोकिएको छ, न भारतले किन्न चाहे जति बिजुली बेच्न सकिएको छ । स्वदेशमा विद्युत् बढी भएर भारतमा विक्री गरिरहेको भन्दै प्राधिकरणले शान देखाइरहँदा काठमाडौं लगायतका सहरमा तारन्तार बिजुली जाने प्रवृत्ति बढेको छ ।
यसले सबैलाई हानी पुगेको छ । एकातिर आयोजनाले बिजुली खेर फाल्नु पर्ने, अर्कातिर उद्योगधन्दाले डिजेलबाट बिजुली उत्पादन गर्नुपर्ने समस्या छ । भारतले पनि ‘किन्छु’ भने जति बिजुली हामीले दिन सकिरहेका छैनौँ ।