इन्धन गाडीको आयात घट्यो, विद्युतीय बढ्यो 



वीरगञ्ज,साउन १४ । देशको मुख्य व्यापारिक नाका वीरगञ्जबाट विलासी सवारीसाधनको आयात स्वाट्टै घटेको छ । इन्धनबाट चल्ने जीप कार भ्यानको आयात घट्दा यस्ता विद्युतीय साधनको आयात भने बढेको छ । 

वीरगञ्ज भन्सार कार्यालयले आफ्नो बेबसाइटमा राखेको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० मा आव २०७८/७९ को तुलनामा जीप कार भ्यानलगायत अधिकांश सवारीसाधनको आयात कम भएको छ । 

वीरगञ्ज भन्सारका अधिकृत रामचन्द्र ढाकालले गत आवमा यो नाकाबाट १ हजार ११० ओटा जीप कार र भ्यान भित्रिएको जानकारी दिए छ । यस्तो संख्या अघिल्लो वर्ष ५ हजार ६७४ थियो । 

सरकारले गतवर्ष विदेशी मुद्राको सञ्चिति घटेको भन्दै गाडी आयातमा रोक लगाएकाले पनि आयात खुम्चिएको भन्सार अधिकारीहरूको भनाइ छ । पछिल्लो समयमा प्रतिबन्ध हटाए पनि आयात बढेको छैन । बजारमा माग नहुनु र बैंकहरूले लगानी नगर्दा प्रतिबन्ध हटे पनि आयात नबढेको व्यापारी बताउँछन् ।

विद्युतीय साधन बढ्यो 

विद्युतीय सवारी साधनको आयात भने बढेको छ । गतवर्ष यस्तो आयात १२७ प्रतिशतले बढेको छ । गएको आव २०७९/८० मा ३६१ ओटा यस्ता साधन आयात भएको छ । यो अघिल्ल्लो वर्ष १५९ थियो । 

गतवर्ष स्वदेशमै मोटरसाइकल एसेम्बल प्लान्ट चल्न थालेपछि अनएसेम्बल्ड मोटरसाइकलको आयात बढेकोमा यस वर्ष यस्तो आयात पनि घटेको छ । 

वर्ष २०७८/७९ मा २५ हजार २४८ ओटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएकोमा गत वर्ष यो संख्या १८ हजार ३३३ मा झरेको भन्सारले बताएको छ । पिकअप, ट्रक–बस, तयारी मोटरसाइकल, गाडीका पार्टपुर्जालगायतको आयात पनि घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्