पाँच वर्षमा दोब्बर भयो सुनको भाउ, अझै बढ्ने !
काठमाडौं,साउन ११ । पछिल्लो पाँच वर्षमा सुनको मूल्य दोब्बर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७५ साउन १० मा प्रतितोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५ वर्षपछि बुधबार (२०८० साउन १०) मा १ लाख १२ हजार ७०० रुपैयाँ तोकिएको छ । यो ५ वर्षअघिको मूल्यभन्दा करीब दोब्बर हो ।
यो ५ वर्षमा सुनको मूल्यमा उतारचढाव देखिए पनि पछिल्लो केही महीनादेखि सुनको मूल्य लाखमाथि रहँदै आएको छ ।
गत वर्षको पुस १ गते प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुन त्यसयता तोलाको लाखमाथि नै छ । सुनको मूल्यमा नयाँ रेकर्ड पनि यही महीनामा कायम भएको छ । यही साउन ४ गते सुन तोलाको १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य अझै बढ्ने व्यवसायीको अनुमान छ ।