ललिता निवास जग्गा प्रकरणमा नापी विभागका तत्कालीन कर्मचारी पक्राउ



काठमाडौं,साउन ८ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । 

उनका अनुसार श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ । ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए । 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी छापा, दस्तखत, कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । 

ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो । तर, दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस्