बिदाई भए नुवाकोट स्वास्थ्य क्षेत्रका हस्ती रवीन्द्र शाह



नुवाकोट,साउन ७ । जिल्लाकै स्वास्थ्य क्षेत्रका एक हस्ती रवीन्द्र शाह अन्ततः बिदाई भएका छन् । आफ्नो जीवनको अमूल्य पसिनालाई बिट मार्दै शाहले अनिवार्य अवकाश लिएका हुन् ।

महोत्तरी जिल्ला सर्पल्लोमा जन्मिएका शाहले नुवाकोटमा एकै थलो भद्रुटारमा ३७ वर्ष पसिना बगाएका छन्। अहेवको रुपमा नुवाकोट प्रवेश गरेका शाह हसिलो स्वभावका सबैलाई सम्झाउन सक्ने शक्ति लिएर बिक्रम संवत २०४३ सालमा नुवाकोट प्रवेश गरेका थिए ।

सुरुमा महोत्तरीदेखि नुवाकोट प्रवेशको जीवन त्यति सहज भएन । डाडाकाडा भीर पहाडले गन्तव्य त्यति सहज नहोला झैं लागेको थियोे शाहलाई । आइतबार बिदाई स्वरुप माला र खादाले गला छोपिदै गर्दा शाहले पुराना गोरेटो खोचयुक्त ग्रामिण बाटो झलझली सम्झिए । जहाँ जुनसुकै समय बिरामी भेट्न पुग्थे। साझापथसगको कुराकानीमा शाहले रातरात हिडेर साविकको लिखु, काउले सिक्रेसम्म बिरामीको उपचारार्थ खटिएको सम्झिए।

कहिले सुनखानी, खोलेगाउ भद्रुटार, थानापति कविलाससम्म हिडेरै बिरामीलाई उपचार गर्न पुग्थे रवीन्द्र शाह। अहिले परिस्थितिमा सुधार आएको पाउदा आफू हर्षविभोर हुने गरेको बताउँछन् । ‘अहिले घरघरमा शौचालय छ, हरेक वडामा स्वास्थ्यकर्मी छन् ।’ शाहले भने- ‘पहिला सडक तथा सञ्चारको अभावले गर्दा समेत धेरैले अकालमा ज्यान गुमाउनु परेको थियोे ।’

रातको समय बिरामीको आफन्तसंगै केहि औसधि, प्रेसर जाच्ने मेसिन लिएर बिरामीको घरमा पुग्थे ऊनी । कतिपय बिरामीको ज्यान आफ्नो काखमा राखेर उपचार गर्दागर्दै बितेको स्मरण गरे उनले । जीवनको उर्जाशील समय रोगीको रोग निदान गर्दागर्दै बितेको बताउँछन् शाह । आफू अहेवको पदमा भित्रिएपनि सबैले ‘डाक्टर साव’भनेर सम्मान गर्थे उनलाई । त्यसो त विकसित देशमा एमबीबीएस गरेको डाक्टर भन्दा कम्ता थिएन उनको अनुभव । बिरामी हेर्ने बित्तिकै थलिएका बिरामी समेत स्वास्थ्यलाभको अनुभुती गर्न पुग्थे।

जीवनको कुनै परिस्थितिमा झुक्नु परेन उनलाई । घरायसी समस्या भन्दा बिरामीको सेवा नै उनको चुनौती बनिरहे । त्यसो त शाहका एक छोरा, एक छोरीका साथ श्रीमती छन् । शाहका छोरा हाल एमबीबीएस अध्ययनरत छन् । बुबाको बाकी सपना छोराले पुरा गर्नेमा विश्वस्त छन् उनी ।

आइतबार एक समारोहका बीच शाहलाई पञ्चकन्या गाउँपालिकाले सौहार्दपुर्ण बिदाई गरेको छ । गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले रवीन्द्र शाहले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताए । बिदाई समारोहमा पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष बिमला केसी, प्रमुख प्रशासकिय, विभिन्न पार्टीका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियोे ।

केहि समय अघि साझापथ डटकमले शाहसग गरेको कुराकानी

प्रतिक्रिया दिनुहोस्