टमाटरपछि भारतमा अदुवाको मूल्यमा उच्च वृद्धि, किलोकै ४ सय भारू पुगेपछि बढ्यो चोरी



कर्नाटक,साउन ६ । भारतमा तरकारीको मूल्यमा लगातार वृद्धिले सर्वसाधारण मर्कामा परेका छन् । केही दिनअघि अकाशिएको टमाटर मूल्यपछि अब अदुवाले घरायसी बजेट बिगारेको छ। किनकि खुला बजारमा अदुवा प्रतिकिलो चार सय भारतीय रुपैया (भारु)मा विक्री भइरहेको जनाइएको छ ।

कर्नाटक राज्य रैथा संघको मैसूर जिल्ला इकाईका अध्यक्ष र अदुवा उत्पादक होसुर कुमारले अदुवाको मूल्यमा भएको यो उछाल पछिल्लो दशककै अभूतपूर्व घटना भएको बताएका छन् । अदुवाको मूल्य पछिल्लो केही दिनदेखि अभूतपूर्व स्तरमा बढेर प्रतिकिलो ४ सय भारु पुगेको छ । अहिले कर्नाटकको खुला बजारमा एक किलो अदुवाको मूल्य ३ सयदेखि ४ सय भारुसम्म छ । कर्नाटक भारतमा अदुवाको दोस्रो ठूलो उत्पादक हो । आर्थिक वर्ष २०२२ मा भारतको मध्य प्रदेश अदुवाको सबैभन्दा ठूलो उत्पादक थियो ।

कर्नाटक राज्य रैथा संघको मैसूरु जिल्ला एकाईले टीओआईलाई बताए अनुसार जुन २०२२ मा ६० किलोग्राम अदुवाको बोराको २ हजारदेखि ३ हजार भारुमा बेचिन्थ्यो । अधिकतम मूल्यकै हिसाबमा त्यतिबेला अदुवाको मूल्य प्रतिकिलो ५० भारु थियो । अहिले सोही परिणामको अदुवा ११ हजार भारुमा विक्री भइरहेको छ ।

यो मूल्य वृद्धि मैसूरु क्षेत्र र मलनाड जिल्लाका अदुवा उत्पादकहरूका लागि वरदान भएको छ । उनीहरूले गत सिजनको बालीको फाइदा उठाइरहेका छन् ।  

अदुवाको भाउ कीर्तिमानी उचाइमा पुगेसँगै देशैभर अदुवा चोरी हुन थालेको छ । केरला र कर्नाटकका किसानहरूले चोरहरूसँग सामना गर्नुपर्छ । कर्नाटकका एक किसानले आफ्नो खेतबाट रु १.८ लाख मूल्यको अदुवा चोरी भएको बताए । होर्लावाडीका एक किसानले आफ्नो खेतबाट रु १० हजार मूल्यको अदुवा चोरी भएको भन्दै बिलिगर प्रहरीमा उजुरी दिएका छन् ।

त्यस्तै, महाराष्ट्रको पुणेमा एक किसानले आफ्नो खेतबाट ४०० किलो टमाटर चोरीको मुद्दा दायर गरेका छन् । केही किसानहरूले चोरीबाट बच्न आफ्नो खेतमा सीसीटीभी जडान गरेको पनि रिपोर्ट आएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्