प्रतिकित्ता ५० रुपैयाँमै भर्न पाइने आइपीओ बिक्री खुला, १ लाख कित्तासम्म भर्न पाइने !
काठमाडौं,साउन ४ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा आज अर्थात साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने भएको हो । प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । जसमा कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । साथै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुका लागि निष्कासन गर्नेछ । त्यस्तै, ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि जारी गर्नेछ । बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काससन गर्नेछ ।
प्रतिकित्ता ५० रुपैयाँको दरले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।