चितवनको इच्छाकामना गाउँपालिकाले दियो किसानलाई अनुदानमा कृषि एम्बुलेन्स
चितवन,साउन २ । जिल्लाको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।गाउँपालिकाले वडा नम्बर २ को हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडा नं २ का वडाअध्यक्ष पंच बहादुर चेपाङ, वडा नं. ४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेती लगायतको सहभागितामा कृषक समूहका अध्यक्ष एक बहादुर चेपाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाको पहाडी भूगोलका कृषकहरूले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज ढुवानीको लागि आर्थिक वर्ष ०७९÷०८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भुषालका अनुसार एम्बुलेन्सको लागत भ्याटसहित २५ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ ८३ पैसा छ । लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले र बाँकी रकम कृषक समूहले व्यहोरेको उनले जानकारी दिए ।
गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानहरूले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिएसँगै कृषि उत्पादन बजारीकरणका लागि कृषि एम्बुलेन्स हस्तान्तरण गरेका हौं,’ उनले भने, ‘यसले कृषि उपजको उचित मूल्य पाउने र खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौं ।’
एम्बुलेन्समा सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नम्बर १ र २ काउँले, हपनी, मायाटार लगायतका पहाडी भू–भागमा रहेका किसानहरू लाभान्वित हुनेछन् ।