पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महीनाको माग धान्ने



कास्की,साउन २ । पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुईओटा गृहको उद्घाटन गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौंडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे । सो अवसरमा मन्त्री रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गरेको धारणा राखे । 

नेपाल आयल निगमका प्रबन्ध निर्देशन ई उमेशप्रसाद थानीले गगनगौंडामा रहेको यस डिपोको भण्डारण क्षमता विस्तारले गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको विक्री वितरणलाई सुदृढ बनाउन कोसेढुङ्गा सावित हुने बताए ।

नेपाल आयल निगमले विसं २०५८ सालपछि निगमको आफ्नै लगानीमा अघि बढाई मुलुककै डिजल भण्डारणको हिसाबले दोस्रो ठूलो पेट्रोलियम भण्डारण रहेको उनको भनाइ छ । ‘निर्माण भएका यी भण्डारण गृह तथा पूर्वाधारहरू निगमको भौतिक पूर्वाधारमा प्रगति, नवीनता र आधुनिकताको प्रतीकका रूपमा खडा भएका छन्,’ उनले भने । 

सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि इन्धन भण्डारण क्षमता विस्तार आवश्यक भएको बताए । यो भण्डारण गृह पोखरा अन्तरराष्ट्रिय विमानस्थलसँगै सञ्चालन आउनुपर्ने भए पनि केही ढिलाइ गरी भएको उनको भनाइ छ ।‘विमानस्थल सञ्चालनमा आएसँगै इन्धन भण्डारण गृह पनि सञ्चालनमा आएको भए राम्रो हुन्थ्यो, आगामी दिनमा यस्ता एक अर्काका परिपूरक संरचना निर्माण गर्दा ध्यान दिनुपर्छ,’ प्रमुख आचार्यले भने ।

एक महीनाको माग धान्ने क्षमता

निगमका प्रबन्ध निर्देशक थानीका अनुसार गण्डकी प्रदेशमा हरेक दिन करीब चार लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । 

हाल एक दिनमा यस प्रदेशमा तीन लाख २० हजार लिटर डिजल र एक लाख ६० हजार लिटर पेट्रोल विक्री वितरण भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ ।

प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजलको माग करीब सात दिन र पेट्रोलको माग करीब दुई दिन मात्रै धान्न सक्ने क्षमता छ । 

थानीका अनुसार आज उद्घाटन भएका नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजलको भण्डारण करीब ३० दिनभन्दा बढी पुग्नेछ भने साविकको सात सय ६० केएल क्षमताको मट्टितेल ट्याङ्कको पेट्रोल ट्याङ्क भएको रूपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करीब १० दिनभन्दा बढी माग धान्न सक्ने भएको छ ।
 
‘विसं २०५८ पछि क्षमता विस्तार र स्तरोन्नति हुन नसकेको यस डिपो अब अमलेखगञ्ज, थानकोटपछि नेपालको तेस्रो ठूलो पेट्रोलियम भण्डारण गृह बनेको छ,’ उनले भने । 
 
निर्माण सम्पन्न परियोजनाले काठमाडौं लगायतका अन्य क्षेत्रको ब्याकअपका रूपमा पनि काम गर्ने उनको भनाइ छ । नवनिर्मित भण्डारण गृहमा एक नयाँ पहुँच सडक, २४ लाख लिटर क्षमताको पानी भण्डारण ट्याङ्क, चालक तथा सुरक्षाकर्मीका लागि नयाँ संरचना निर्माण गरिएको छ । इन्धन भण्डारण ट्याङ्क, अग्नि नियन्त्रण उपकरण तथा प्रणाली र यसमा जडान भएका संरचनाहरू जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित छन् । 

डिजल लोड तथा अनलोड सुविधा पूर्णरूपमा स्वचालित र उच्च प्रविधियुक्त तथा आधुनिक सुरक्षा प्रविधिमा आधारित रहेको निगमको भनाइ छ । नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याङ्करले दैनिक डिजल अनलोड गर्न सक्नेछन् । 

ट्याङ्कर लोड तथा अनलोडका लागि प्रतिघण्टा एक सय २० किलोलिटर क्षमताका ६ ओटा पम्प जडान गरिएको छ । चारओटा लोडिङ तथा अनलोडिङ बे निर्माण सम्पन्न भएको छ । साथै भण्डारण गृहको तापमान, इन्धन, चुहावट, आगलागी लगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्