नागरिक लगानी कोषको सभा सम्पन्न



काठमाडौं,साउन १ । नागरिक लगानी कोषको २८औं वार्षिक साधारणसभाले आर्थिक वर्ष (आव) २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्ट्याइएको प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । 

आइतवार सम्पन्न सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. सूर्यबहादुर थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैर सरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्ने धारणा राखे । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कारोबारलाई क्रमश: सूचना प्रविधिमैत्री बनाउँदै विस्तार गरिने बताए ।

कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ काम भइरहेको कार्यकारी निर्देशक नेपालले बताए । कोषले सहभागीलाई नियमित ब्याजमा अतिरिक्त १ दशमलव ५ प्रतिशत प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिशअनुसार उक्त निर्णय गरेको बताइएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्