खाद्यान्न आयात: धान उल्लेख्य बढ्दा चामलको खस्कियो



वीरगञ्ज,असार २७ । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट धानको आयात उल्लेख्य वृद्धि हुँदा चामलको आयात खुम्चिएको छ । तयारी चामलको आयात घट्नु र त्यसको कच्चा पदार्थ धानको आयात बढ्नु सकारात्मक भएको उद्यमीहरूले बताएका छन् । 

चालू आर्थिक वर्ष (आव) २०७९/८० को ११ महीनामा यो नाकाबाट धानको आयात करीब ६० प्रतिशतले बढेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । गत साउनदेखि जेठसम्ममा चामल आयात भने २५ प्रतिशतले घटेको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । 

धान र चामल दुवै उत्पादन मुख्य रूपमा भारतबाट भित्रिन्छ । धान आयातित खाद्यान्न सूचीको अग्रस्थानमा छ । स्वदेशी चामल उद्योग प्रवर्द्धनका दृष्टिले चामलको आयात घटेर धान बढी भित्रिनु सकारात्मक भएको नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । 

यो नाकाबाट बारा र पर्साका उद्योगले धान आयात गर्छन् । अधिकांश ठूला चामल उद्योग यही क्षेत्रमा सञ्चालित छन् । अधिकांश यस्ता उद्योग आयातित धानको भरमा चलेका छन् । 

११ महीनामा भारतबाट १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको ३ लाख ३५ हजार मेट्रिक टन धान आयात भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख १० हजार टन धान भित्रिएको ढकालले जानकारी दिए । 

अघिल्लो वर्ष विभिन्न ब्रान्डका ४३ हजार ३२५ टन तयारी चामल आयात भएकोमा यो वर्ष ३२ हजार ५९७ टनमा सीमित भएको भन्सारको तथ्यांक छ । चामलको एक मुख्य उत्पादक भारतले निकासीमा २० प्रतिशत शुल्क लगाएपछि यसको आयात प्रभावित भएको हो । भारतले आन्तरिक बजारमा मूल्य नियन्त्रणका लागि यस्तो नीति लिएको हो । 

भारतले शुरूमा धान निकासीमा समेत शुल्क लगाएको थियो । स्वदेशी उद्यमी र सरकारी पहलपछि धानमा शुल्क हटाएको हो । भारतले यो वर्ष नेपालमा ६ लाख टन धान निकासी गर्ने गरी कोटा तोकेको छ । यो परिमाण अघिल्लो वर्षको तुलनामा १ लाख टन बढी हो ।

यो नाकाबाट गहुँ आयात ७७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ११ महीनामा २१ हजार ३९५ मेट्रिक टन गहुँ आयात भएकोमा यो वर्ष ४ हजार ९०२ टनमात्र भित्रिएको छ । भारतले निकासीमा कोटा तोकिदिएपछि गहुँको आयात घटेको हो । भारतले नेपालमा वार्षिक ५० हजार टन गहुँ निकासी गर्ने गरी कोटा निर्धारण गरेको थियो । सरकारी ढिलासुस्तीका कारण लामो समयसम्म कोटाको गहुँ आयात भएको थिएन । यो नाकाबाट फापर, कोदो र कनिकालगायत खाद्यान्नको आयात पनि घटेको तथ्यांकले देखाउँछ । भारतले कनिकामा पनि २० प्रतिशत अतिरिक्त कर लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्