आर्थिक वर्षको अन्तिम समयमा आएर महँगी नियन्त्रण, कसरी घट्यो मूल्य वृद्धिदर ?



काठमाडौं,असार २६ । जेष्ठमा नेपालको मुद्रास्फीती अर्थात् मुल्यबृद्धिदर थप नियन्त्रणमा आएको छ । गत बैशाखकै तुलनामा जेष्ठको मुल्यबृद्धिदर ०.५८ प्रतिशत विन्दुले घटेको हो ।

गत बैशाखमा नेपालको उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशतमा थियो । तर, जेष्ठमा त्यो मुद्रास्फीति ६.८३ प्रतिशतमा झरेको छ । विगतका महिनाहरूमा मुद्रास्फीती बढ्दै गएको को । चालू आर्थिक वर्ष २०७९/८० को सुरुदेखि नै बढ्दै गएको मूल्यवृद्धिदर मंसिर–पुसमा केही कम भएको थियो । तर, पुन: बढ्दै गएको मुद्रास्फीती वैशाख यता भने घट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको जेष्ठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । गत फागुनमा ७.४४ प्रतिशत रहेको मूल्यवृद्धि चैतमा ७.७६ प्रतिशत पुगेको थियो । त्यो बैशाखामा ७.४१ प्रतिशत र जेष्ठमा ६.८३ प्रतिशतमा झरेको छ । यसरी पछिल्लो समय मुद्रास्फीती घट्दै गएको छ ।

साथै, मुद्रास्फीती लक्ष्यअनुसारको नियन्त्रणमा आएको छ । सरकारले चालु आवमा मुद्रास्फीतीलाई ७ प्रतिशतभित्र नियन्त्रण गर्ने लक्ष्य रोखेको थियो । तर, चालु आवको साउनदेखि बैशाखसम्म मुद्रास्फीति लक्षित सिमा भन्दा बाहिर थियो । उक्त महिनामा मुद्रास्फीती ७ प्रतिशत भन्दा माथि नै थियो । गत भदौमा त मुद्रास्फीती ८.६४ विन्दुसम्म पुगेको थियो । तर, अहिले मुद्रास्फीती घट्दै गएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले पुष्टी गरेको हो ।

यसपालीको मुद्रास्फीती गत आवको सोही महिनाको तुलनामा पनि कम हो । गत आवको जेष्ठमा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । गत आवको औसत मुल्ययवृद्धि भने ६.६२ प्रतिशत थियो ।

तथ्यांकअनुसार जेष्ठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । साथै, जेष्ठमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । गत आवको जेठ महिनामा यी क्षेत्रहरुमा क्रमश: ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

बिशेषगरि पेट्रोल र डिजेल जस्ता इन्धनको मुल्य घट्दा मुद्रास्फीती घटेको छ । इन्धनको मुल्य बढ्दा बस्तुको ढुवानी खर्च स्वत खर्च बढ्छ । आयात गरिने वस्तुको पनि लागत बढ्छ । साथै, इन्धनमा आधारीत उद्योगहरुको लागत पनि बढ्छ । यसरी इन्धनको मुल्य बढ्दा महंगी पनि बढ्छ । सोही अनुरुप विगतमा इन्धनको मुल्य बढ्दै जाँदा महंगी पनि बढ्दै गएको थियो । अहिले इन्धनको मुल्य घट्दै जाँदा मंहगी घट्दै गएको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्