अब घरको अर्थतन्त्र मात्रै होइन, देशको अर्थतन्त्र पनि महिलाको हातमा हुनेछ : अर्थमन्त्री डा. महत



काठमाडौं,असार २३। अर्थमन्त्री डा. प्रकाश शरण महतले घरको अर्थतन्त्र सम्हाल्दै आएका महिलाहरू अब मुलुककै अर्थतन्त्र चलाउने अवस्थामा पुग्न लागेको बताएका छन् ।

न्यू बिजनेश एजले काठमाडौंमा आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’मा महतले यस्तो बताएका हुन् ।

‘नेपालमा महिलाहरूले घरको अर्थतन्त्र चलाउँदै आउनुभएको छ, अब देशको अर्थतन्त्र पनि उहाँहरूको हातमा हुनेछ,’ मन्त्री महतले भने ।

उनले महिलाहरूले गरेको कामलाई महत्त्वपूर्ण रहेको बताए । उनले कार्यक्रममा सुदूरदेखि कोशीसम्म विभिन्न क्षेत्रका उद्यममा लागेका महिलालाई प्रतिनिधित्व गराएकोमा धन्यवाद दिए ।

ठूलो संख्यामा युवाहरू विदेशमा रहेको तथा उद्यममा महिलाहरूको संख्या कम रहेको भन्दै उनले नेपाली अर्थतन्त्र चलायमान बनाउन अब महिलाको मुख्य भूमिका हुने बताए । बजेटमा पनि महिला सशक्तीकरणलाई प्राथमिकता साथ राखिएको भन्दै पाँचखालमा पहिलो पटक महिला औद्योगिक ग्राम बनाउने बजेटमा भनिएको उल्लेख गरे ।

सरकारले स्टार्टअपलाई प्रमोट गर्नुपर्ने भन्दै सरकारले ल्याएका विभिन्न योजनाको महिला उद्यमीहरूले भरपुर उपभोग गर्ने अपेक्षा रहेको बताए ।

उद्यम गर्न स्थिर हुनुपर्ने भन्दै पुरूष धेरै अस्थिर हुने भएकाले अबको नेतृत्व महिलाले लिनुपर्ने बताए । ‘पुरुष धेरै स्थिर नभएको स्थिरता दिने महिला नै हुन् । यो महिलालाई नेतृत्व लिने अवसर पनि हो,’ उनले भने ।

महिला उद्यमीलाई सरकारले प्राथमिकतमा राखेको भन्दै महिला देशका पूँजी भएको बताए । उद्यममा स्थिरता चाहिने भन्दै यसमा महिलाको भूमिका र डेडिकेशन रहेको उनको भनाइ छ ।  

पहिलाजस्तो मार्केटिङ गर्न असहज नभएको भन्दै विश्वले युनिकनेस खोजेकाले डिजिटल प्लेटफर्मलाई उपयोग गर्नुपर्ने भन्दै उनले यसमा आफूले सहयोग गर्ने बताए । 

उनले सूचना प्रविधि क्षेत्रमा पूँजीको सिमाना नराख्ने तथा १०० रुपैयाँमा कम्पनी खोल्ने व्यवस्था भएकाले यसको फाइदा उठाउन अनुरोधसमेत गरे । उनले अब काम हेरेर मात्रै अनुदान दिने व्यवस्था गर्नुपर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्