बजारमा नेपाली आँपकै एकछत्र राज, उत्पादन पनि बर्सेनि बढ्दो



काठमाडौं,असार २२। फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप विक्री भइरहेको छ । 

अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले यसको मूल्य उकालो लाग्दै छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप विक्री भएको छ । गत वर्ष यही समयमा आँपको थोक मूल्य ८० देखि ९० रहेको थियो ।  आजको मितिमा भने आँपको मूल्य थोकमै ६० माथि पुगिसकेको छ । 

जातअनुसार केही आँप अलि महँगो र केही आँप अलि सस्तोमा विक्री हुन्छ । सबैभन्दा बढी माग र विक्री हुने आँप मालदह हो । यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा विक्री भइरहेको छ । दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत विक्री भइरहेको छ ।

उत्पादनको मुख्य समयमा त्यसबेला कुलेश्वरबाट दैनिक १०० टन र अझै त्योभन्दा माथि पनि आँप गएको थियो । अहिले ५० टनको हाराहारीमा आँप काठमाडौं उपत्यकामा गइरहेको छ । विस्तारै यो घट्दो क्रममा छ भने मूल्य बढ्न थालेको छ । ‘यसपालि बजारमा धेरै आँप आयो, त्यसैले आँप सस्तिएको हो,’ बाँनियाले भने, ‘पछिल्लो दशक होइन, २०/२५ वर्षको मेरो यो व्यापारकै अनुभवमा यसपालि आँप सबैभन्दा सस्तो भएको छ, नेपाली आँप उत्पादन पनि राम्रो भयो ।’

उनले मण्डीबाट रु ३० करोड बराबरको आँप विक्री हुने अनुमान गरे । नेपालमा व्यापारीहरूले फरकफरक ठाउँमा आँप पठाउने भएकाले एकीकृत कारोबार र वार्षिक कारोबार कति भनेर यकिन गर्न नसकिने बाँनिया बताउँछन् । 

कृषि विभागका अनुसार पनि यसपालि आँपको उत्पादन बढेको छ । विभागका सूचना अधिकारी, वरिष्ठ कृषि अर्थविज्ञ सुनिलकुमार सिंह यसपटक आँप उत्पादनको सिजन पनि भएकाले उत्पादन बढेको बताउँछन् । उनका अनुसार उत्पादन क्रमशः बढ्दो क्रममा रहेको देखिन्छ । 

आव २०७७/७८ मा ४३ हजार ६८९ हेक्टरमा आँप उत्पादन भएको थियो । त्यहाँबाट चार लाख ६६ हजार २६७ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७८/७९ मा भने ३९ हजार ५७९ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको तथ्यांक छ । यो वर्ष झन् राम्रो उत्पादन भएको छ । उत्पादकत्व पनि प्रतिहेक्टर १०.६७ बाट बढेर १२.६१ मेट्रिक टनले बढेको छ ।

नेपालको कुनै पनि फलफूल अन्य देशको तुलनामा गुणस्तरको रहेको व्यापारीको दाबी छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ, कुलेश्वरका अध्यक्ष बाँनियाका अनुसार नेपाली आँप स्वादिलो भएकाले यसको माग राम्रो रहेको छ । ‘माग पनि नेपाली आँपकै हुन्छ । नेपाली आँप भएसम्म विदेशी आँपले बजार पाउँदैन, त्यसैले नेपालमा उत्पादन सकिएपछि मात्रै बाह्य आँप आउँछ,’ उनी भन्छन् । 

बेमौसममा पनि यसैगरी आँप उत्पादन गर्न सके नेपाली उत्पादनले बजार लिनेमा उनी ढुक्क छन् । तर, बिडम्बना बाहिरबाट अन्य फलफूल भित्रिँदा पनि नेपालका अन्य जिल्लामा उत्पादन भएका फलफूल काठमाडौंसम्म पुर्याउनै सकिएको छैन । यहाँ पुगेको पनि बिग्रिसकेको, पाकिसकेको अवस्थामा आइपुग्छ, जसले बजार पाउँदैन । त्यसकारण सरकारले बजार, प्याकेजिङ, ग्रेडिङमा ध्यान दिनुपर्ने व्यवसायीहरूको सुझाव छ । उनले भने, ‘महाराष्ट्रको केरा पाँच दिनमा ल्याउँदा पनि यहाँ केही नहुने र हाम्रो कैलालीको केरा ल्याउँदा ग्यास भरिसक्ने किन त ? यो भनेको प्याकेजिङ र ग्रेडिङको समस्या हो,’ उनले भने । 

आँपको मूल्यमा भने खास एकरुपता हुँदैन । बढी पाकेको आँप सस्तोमा विक्री हुन्छ भने कम पाकेको आँप महँगोमा विक्री हुँदै आएको छ । व्यापारीहरूले बगान नै किन्ने गरेकाले पनि किसानले घाटा नाफा के पायो भनेर आँकलन गर्न पनि मुस्किल हुने बताइएको छ ।

चैततिरै किसानको बगानमै पुगेर व्यापारीहरूले अग्रिम पैसा दिएर बगान नै किन्ने गरेका छन् । किसानको बगानमा जति तिरे पनि बजारले मूल्य निर्धारण गर्ने भएकाले घाटा नाफा व्यापारीकै हुने गरेको छ । उनीहरूले कुनै बेला ठूलै नाफा पनि लिन सक्छन् । कुनै बेला घाटा पनि हुनसक्छ । यसपाली आँपको मूल्य सस्तो भएकाले नाफा कमाउन मुस्किल रहेको एक व्यापारीले बताए । 

कालीमाटीको अवस्था 

काठमाडौं उपत्यकामा अधिकांश फलफूल कुलेश्वर मण्डीबाट विक्री हुन्छ । कालीमाटीबाट नगन्य मात्रामा फलफूल विक्री हुन्छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार पनि काठमाडौंमा यहाँबाट १० प्रतिशत पनि फलफूल विक्री हुँदैन । उनका अनुसार वैशाखदेखि असार १७ गतेसम्म एक हजार ३८२ टन मात्रै फलफूल विक्री भएको छ । त्यसमा ७९३ अर्थात् ५० प्रतिशतभन्दा बढी सिराहाको आँप आएको छ । सप्तरीको ११९ टन, सर्लाहीको १३० टन आएको छ । कूल भित्रिएकोमध्ये १६३ टन अर्थात् १२ प्रतिशतको हाराहारीमा भने भारतबाट भित्रिएको छ । 

सिजनको शुरुआती चरण र अन्तिम तथा बेमौसममा भारतीय आँप आउने गरे पनि मौसममा भने नेपालकै आँप प्रशस्त हुने उनले बताए । ‘शुरुमा आँप अलि महँगो भएर आउँछ । आँपको सिजन जेठ र असार हो । यो समयमा नेपाली आँपले नै भरिन्छ,’ उनले भने । आएका आँपमध्ये ९० प्रतिशत आँप मालदह हुने गरेको पनि उनले बताए । उनका अनुसार यहाँबाट जेठको पहिलो साता आँप थोकमा प्रतिकिलो २२८ रुपैयाँमा विक्री भएको थियो । दोस्रो साता प्रतिकिलो १९१, तेस्रो साता १११ चौथो साता ८६ ले विक्री भएको थियो । 

असार पहिलो साता ६२, दोस्रो साता ७३, तेस्रो साता ७५ हाराहारीमा विक्री भइरहेको छ । यही १७ गते कालीमाटीमा ६० देखि ७० रुपैयाँ किलोमा थोकमा विक्री भइरहेको छ । आजको मूल्य भने मालदह ७० देखि ८० प्रतिकिलोमा थोक विक्री भइरहेको छ । 

कुलेश्वर फलफूल मण्डीमा भन्दा यहाँबाट अलि महँगोमा फलफूल विक्री भइरहेको छ । दुई चार दिन राख्न मिल्ने आँप अलि महँगोमा विक्री हुने र पाकिसकेको आँप सस्तोमा बेच्नुपर्ने भएकाले कारोबारमा कति हुन्छ भन्न नसकिने श्रेष्ठले बताए । 

नेपालमा २४ जिल्लामा हुन्छ आँपको खेती 

नेपालमा कूल फलफूल उत्पादनको क्षेत्रमध्ये आँपले ३० देखि ३५ प्रतिशत ओगटेको छ । नेपालमा सबैभन्दा बढी मधेश प्रदेशमा आँप उत्पादन हुन्छ । व्यावसायिक रूपमा आँप खेती हुने २४ जिल्ला छन् । हाल झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ्ग, नवलपरासी पश्चिम, कपिलवस्तु, रुपन्देही, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुरलगायतका जिल्लामा व्यावसायिक रूपमा आँपको खेती भइरहेको छ ।

फलफूल खेतीमा प्रचुर सम्भावना र अवसर हुँदाहुंँदै पनि फलफूल खेतीको आशातीत विस्तार हुन सकेको छैन । बढ्दो जनसङ्ख्या, मानिसमा स्वास्थ्यप्रतिको सचेतना आदि कारण फलफूलको माग वर्षैपिच्छे बढ्दै गएको पाइन्छ । नेपाल सरकारले फलफूल उत्पादनका कार्यक्रम लागू गरे पनि पर्याप्त भएको छैन ।

फरकफरक समयमा फरकफरक जानका आँप उत्पादन हुन्छ । अगौटे जातहरूमा बम्बई ग्रिन, गोपाल भोग, सुकतारा, गुलाबखास आदि छन् । मध्ये जातहरूमा दशहरी, मालदह, मल्लिका, आम्रपाली पर्छन् । पछौटे जातहरूमा चौसा, कलमतिया, सिपिया, अबेहायात आदि छन् । 

फलफूल व्यवसायको व्यापक विस्तार गरी १० वर्षभित्र प्रमुख फलफूलहरूमा देशलाई आत्मनिर्भर बनाएर निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका लागि आव २०७३÷७४ देखि २०८२÷८३ सम्मलाई फलफूल दशकको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

हावापानीको दृष्टिकोणले तराईदेखि मध्ये पहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ । आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीं तीन÷चार वर्षमा एक वर्ष मात्र राम्रो बाली प्राप्त हुने गर्दछ । 

पहाडी भेगका गर्मी ठाउँहरूमा लगाइएका आँपको बोटको वृद्धि तराई क्षेत्रमा गरिएको खेतीभन्दा कम हुनुको साथै उत्पादन तथा फलको गुणस्तर पनि कम हुन्छ । उष्णप्रदेशीय फलफूलहरूमध्ये आँपलाई प्रमुख फलको रूपमा मानिन्छ । 

पाकेको आँपमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ । दशहरी, मालदह, लङ्ग्रा, जर्दा, अल्फान्सा, अम्रपाली, मल्लिका, रत्ना, चौसा, कलकत्तीया, निलम, फजलीलगायतका आँपका जात छन् । 

आँप उष्णप्रदेशीय सदाबहार बहुवर्षीय फलफूल बाली हो । भौगोलिक अवस्था अनुसार समुद्र सतहदेखि २००–६०० मिटरसम्मको उचाइमा व्यावसायिक रूपमा आँप खेती गर्न सकिन्छ । यसले तुषारो र सुख्खा सहन सक्दैन । 

जाडो र वसन्त ऋतुमा तुषारो पर्ने ठाउँमा आँप बगैंचा बनाउन उपयुक्त हुँदैन । एउटै बिरुवाले कयौं दशकसम्म (३०–४० वर्ष) फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु जरुरी हुने फलफूल विज्ञको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्