वर्षाका कारण पर्यटक नआएपछि सुनसान होम स्टे, फुर्सदिला छन् थारु समुदाय



चितवन,असार २१ । पछिल्ला दिनहरुमा देशकै सय पर्यटकीय गन्तव्यमा पर्ने मेघौलीका थारु होम स्टे सुनसान बन्न थालेका छन । सिजन अफ भएसँगै बर्षाका कारण पर्यटकीय चहलपहल कम भएपछि यो  क्षेत्र सुनसान देखिएको हो ।

वर्षायाममा नाराणणगढ–मुग्लिनको बाटो अवरूद्ध हुने, चितवन राष्ट्रिय निकुञ्जभित्र सफारी बन्द हुने, नारायणी तथा राप्ती नदीमा बाढीको त्रासलगायतका कारण असार लागेदेखि बाहिरका पर्यटकहरु धेरै नआउने भएकाले यहाँका होमस्टे पर्यटक नहुँदा सुनसान बन्न थालेको होमस्टे सञ्चालकहरुले बताएका छन  । कोरोनाको असरबाट भर्खरै तङ्ग्रिदै गरेको पर्यटनमा आर्थिक मन्दीको असर देखिंदा होमस्टेमा पनि प्रभाव परेको उनीहरुको भनाई छ । 

मेघौलीमा २०६७ माघ १० गतेदेखि पाँच घरबाट शुरूभएको र हाल आठवटा घरमा सञ्चालन गरिएको होमस्टेमा दिनहुँ औसत असी जनाभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका थिए ।   बर्षायाम शुरूभएसँगै पर्यटकको संख्या आधा भन्दा कम भएको होमस्टेका अध्यक्ष सोमलाल महत्तोले जानकारी दिए  । 

पर्यटक कम भएपछि  पर्यटक सत्कारमा फुर्सद नहुने यहाँका घरवास सञ्चालक यतिबेला धान रोप्नमा व्यस्त हुन थालेका छन् । होमस्टेमा अर्गानिक एवं सस्तो बासको व्यवस्था गरिएपनि बर्षाका कारण टाढाटाढा बाट आउने पर्यटकलाई सास्ती हुने भएकाले पर्यटकको संख्या घटेको उनको भनाई छ । पर्यटक आगमन हुँदा राम्रो आम्दानी हुने गरे पनि पर्यटक नआउँदा यतिबेला जीविकोपार्जनमा समस्या हुन थालेको उनले बताए । 

होमस्टे रहेका घरहरु थारु समुदायको परम्परागत शैलीका छन् ।आफूहरुमा संस्कृति बचाउनुपर्छ भन्ने भावना र आर्थिक क्षेत्रमा परिवर्तन गर्ने उद्धेयसहित होमस्टेकोअवधारण ल्याईएको उनले बताए । ‘हाम्रो  समुदायले प्रयोग गर्ने ल्याउने गरगहना, लुगाफाटा देखि पर्यटक लोभिन्छन र अनौठो पनि मान्छन उनले भने ,परम्परागत मादलमा नाच्ने, गाउने र पाहुनालाई मनोरञ्जन हुँदा संस्कृति पनि जोगिएको छ । ’

मेघौलीका जीवन चौधरी पछिल्लो केही वर्षयता सिजनमा पर्यटक बढेको र आम्दानी पनि राम्रै भएपनि बर्षायाममा पर्यटक अत्यन्त न्युन हुने बताउँछन । पर्यटकको बसाई लम्ब्याउने अन्य विषय नभएकोले पनि अपेक्षा  गरे अनुसार आम्दानी गर्न नसकेको चौधरीको भनाई छ । 

यो क्षेत्रमा जाडो मौसममा पिकनिक खान आउनेहरु उल्लेख्य हुन्छन् ।सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दछन् । होमस्टेलाई स्थानीय एवं केन्द्रिय स्तरमा बजारीकरण गर्न नसकिएको  चौधरीले बताए । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदीले घेरिएको सुन्दर टापु मेघौलीको प्रकृति र संस्कृतिका विविध छटाको प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटकहरु आउँछन् । 

नेपालमा नै सर्वप्रथम जंगल सफारीको शुरूआत गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृतिको उत्कृष्ट गन्तव्य बनेको छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोहीको अवलोकन पर्यटकका लागि  मुख्य  आकर्षण हुन् ।

प्रतिक्रिया दिनुहोस्