पर्यटकको आगमन बढ्यो पूर्वाधार सञ्चालन कहिले ?
काठमाडौं,असार १८ । पर्यटक आगमनको गति बढे पनि सोही क्षेत्रको प्रवर्धनका लागि निर्मित पूर्वाधारको समुचित उपयोग हुन नसक्दा पर्यटन उद्यमकै दिगोपनामा असर गर्ने देखिएको छ ।
सन् २०२३ को छ महिनामा पौने पाँच लाख विदेशी पर्यटक नेपाल भ्रमणमा गरेका छन् । अध्यामन विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्म चार लाख ७६ हजार ४८१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
कोरोना महामारीले प्रभावित भएको पर्यटन आगमन सङ्ख्या पछिल्लो समय गति लिने क्रममा झन्डै २०१९ कै हाराहारीमा पुगेको देखिन्छ ।
पछिल्लो महिना नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गए पनि पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन पर्यटकीय पूर्वाधारको विकास र सञ्चालनमा जोड दिन आवश्यक रहेको पर्यटन व्यवसायीको धारणा छ । होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले भने, “तथ्याङ्कमा पाहुनाको सङ्ख्या बढे पनि अहिले देशभर रहेका होटलको क्षमताको एक चौथाइ मात्रै होटल भरिभराउ रहेका छन् । बनेका विमानस्थल सञ्चालनमा आउन नसक्दा र पर्यटकीय गन्तव्यतर्फका सडकको दुरवस्थाले थप पर्यटक नेपाल भित्र्याउन समस्या देखिएको छ ।”
सञ्चालनमा आइसकेका पोखरा र गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा भारत र चीनबाट मात्रै नियमित उडान सञ्चालन गर्न सकिए पर्यटकीय पूर्वाधारमा भएको लगानीले प्रतिफल पाउने उनले बताए । सरकारले वार्षिक बजेट र नीति तथा कार्यक्रममा मात्रै उक्त परियोजना सञ्चालनबारे योजना बनाउनुभन्दा सञ्चालनको रणनीति प्रस्ट पार्न सके पाहुनाको आगमन दर बढ्न सक्ने उनको विश्वास छ ।
त्यस्तै नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष नीलहरि बास्कोटाले गर्मी छल्न आउने पर्यटकभन्दा खर्चालु पर्यटक भित्र्याउन राज्यको ध्यान जानुपर्ने बताए ।