चुलिँदैछ चीनको आर्थिक समस्या, कसरी गर्लान् सीले समाधान ?
काठमाडौं । चीनको अर्थतन्त्रमा यो वर्ष आर्थिक उच्च वृद्धि हुने ठानिएको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएका कठोर प्रतिबन्धहरू पूरै हटेपछि चिनियाँ अर्थतन्त्र पुरानै लयमा फर्किने अनि विश्वको आर्थिक वृद्धिदरलाई समेत यसले टेवा पुर्याउने आशा गरिएको थियो । तर, यस्तो भएन ।
सन् २०२३ को आधा समय बितिसक्दा चीनको अर्थतन्त्रले विभिन्न समस्याहरू भोगिरहेको छ । त्यहाँको उपभोक्ता खर्च सुस्ताएको छ । संकटले थलिएको घरजग्गा बजारमा सुधारको कुनै संकेत छैन । निर्यात घट्दै गइरहेको छ । युवा बेरोजगारी यसअघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । स्थानीय सरकारहरूको कर्जा घट्नुको सट्टा झन् झन् बढ्दै गइरहेको छ । यी सबैको असर विश्वभर गुञ्जिन थालेको छ ।
यसले कमोडिटीको मूल्यदेखि शेयर बजारसम्म सबैलाई असर पुर्याइरहेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने खतरा त छँदैछ । यसले अमेरिकी अर्थतन्त्र मन्दीमा जाने भय बढाएको छ । विश्वका दुई ठूला अर्थतन्त्रहरू सँगसँगै सुस्ताउने वा मन्दीमा जाकिने सम्भावनाले बाँकी विश्व त्रस्त बनेको छ ।
सबैभन्दा खराब कुरा के छ भने चीनको अर्थतन्त्रले भोगिरहेका यी यावत् समस्याहरू समाधान गर्न राष्ट्रपति सि चिनफिङसँग धेरै विकल्प छैनन् । चीनले माग बढाउन बृहत् स्तरमा स्टिमुलस ल्याउने गरेको छ । यसले घरजग्गा र उद्योगमा अत्यधिक आपूर्तिको समस्या निम्त्याएको छ । स्थानीय सरकारहरूमा कर्जाको स्तर बढाइरहेको छ । यसले चीन कतै ३० वर्षसम्मको अभूतपूर्व आर्थिक वृद्धिपछि जापानी शैलीको मन्दीतिर त गइरहेको छैन भन्ने बहस छेडिएको छ ।
अमेरिकासँग चीनको रवैयाले पनि समस्या झनै बढाइरहेको छ । अमेरिकाले चीनसँग सम्बन्ध कटौतीलाई तीव्र पारेको छ । अमेरिका र उसका मित्र देशहरूले भविष्यमा चीनको आर्थिक वृद्धिदरलाई उकास्न सक्ने उन्नत चिपहरू र अन्य प्रविधिको आपूर्ति ठप्प पार्ने घोषणा बढिरहेका छन् । यी सबै घटनाक्रमहरूले यो वर्ष चीनको आर्थिक वृद्धिदर निराशाजनक हुने खतरा उत्पन्न भएको छ भने अमेरिकालाई उछिन्ने चीनको आर्थिक महत्त्वाकांक्षा पनि असफल हुँदैछ ।
केही वर्षअघि चीन आक्रामकरूपमा बढ्दा धेरैको अनुमान थियो- चीन अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हुन्छ । तर, अहिले भूराजनीतिक गतिले चीनको यो लक्ष्य प्राप्तिलाई पछाडि धकेलिदिएको छ । चीनको यो लक्ष्य प्राप्ति तत्काल सम्भव नरहेको विश्लेषण गर्न लागिएको छ । घरजग्गा क्षेत्रको अकल्पनीय कमी, सुधारको सुस्त गति अनि अमेरिका र चीनको सम्बन्धमा देखिएको दरार आदिका कारण सन् २०३० सम्ममा चीनको आर्थिक वृद्धिदर घटेर ३ प्रतिशतमा झर्ने सम्भावना देखिएको ब्लुम्बर्ग इकोनोमिक्सले देखाएको छ ।
चीनको अर्थतन्त्रको अधिकांश क्षेत्र अहिले संघर्षरत् छन् । म्यानुफ्याक्चरिङ क्षेत्र जुनमा फेरि खुम्चिएको छ । अन्य क्षेत्रहरूले पनि लय समात्न सकेका छैनन् । कर्जामा चुर्लुम्म डुबेका प्रान्तहरूले केन्द्र सरकारबाट वित्तीय उद्धार खोज्न थालेका छन् । साना व्यवसायहरूको विक्रीमा उल्लेख्य कमी आएको छ । भीमकाय प्रविधि कम्पनीहरूमाथिको नियामक कडाइ र कारबाहीले हजारौं रोजगारी गुम्दा घरजग्गा बजार प्रभावित भइरहेको छ ।