फ्रान्समा झनै उग्र बन्यो हिंसात्मक प्रदर्शन
काठमाडौं,असार १७ । अल्जेरियाली मूलका १७ वर्षिय किशोर निहालको प्रहरीको गोलीले मृत्यु भएपछि फ्रान्समा हिंसात्मक प्रर्दशन चर्किएको छ । नाहेललाई मङ्गलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेका थिए ।
पोलिश नम्बर प्लेट भएको कारंर चलाइरहेको नाहेलले ट्राफिक प्रहरीको आदेश नमानेको, कयौं सडक नियम मिचेको अनि पैदलयात्रीको ज्यान जोखिममा पारेको भन्दै ट्राफिक प्रहरीले उनीमाथि गोली हानेका थिए । नाहेललाई न्याय दिनु पर्ने भन्दै मंगलबार देखि नै देशभरमा हिंसात्मक प्रदर्शन जारी छ ।
विरोध प्रदर्शन छिमेकी देश बेल्जियमसम्म पनि उग्र बनेको छ । फ्रान्समा हिंस्रक प्रदर्शनले लुटपाट, आगजनीको रुपम लिएको छ । अहिले फ्रान्सको विरोध प्रदर्शन सन् २०१८ मा पहेँलो भेष्टधारीहरुले शुरु गरेको प्रदर्शन यताकै गम्भीर बनेको छ ।
मानिसहरुले सवारी साधनमाथि आगजनी गरेको, भवनहरुमा चढेर झ्यालहरु तोडफोड गरेको , सडकमा आगजनी गरेको अनि प्रदर्शनकारीहरुले देशका कयौं स्थानमा पसलहरु लुटेको भिडियोहरु आइरहेका छन् । प्रदर्शन उग्र बन्दै गर्दा पक्राउ पर्नेको संख्या २ हजार नाघेको छ ।
पक्राउ पर्नेमा अधिकांश किशोर किशोरी छन् । स्थिति अनियन्त्रित बनेपछि राष्ट्रपति म्याक्रोँले अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई घरमै राख्न अनुरोध गरिरहेका छन् । ट्राफिक नियम नमानेकै कारण अटेरी सवारी चालकलाई मारेको घटना फ्रान्समा यो नै पहिलो भने होइन ।
वर्षेनी यस्ता खालका कयौं घटनाहरु हुने गरेका छन् । ट्राफिक नियम नमानेको आरोपमा सन् २०२२ मा पनि फ्रान्समा ट्राफिक प्रहरीले १३ जनाको गोली हानेर हत्या गरेको थियो । यो वर्ष पनि नाहेलसमेत ३ जनाको यस्तै खालका घटनामा मृत्यु भएको छ । सन् २०२१ मा पनि ट्राफिक प्रहरीले यस्तै खालका परिस्थितिमा ४ जनालाई गोली हानेर हत्या गरेको थियो ।
दोषी कानून
नाहेलको हत्या यता केही नीतिनिर्माताहरुले प्रहरीको बन्दुक प्रयोगसम्बन्धी कानूनको पुनरवलोकन गर्ने माग गरिरहेका छन् । फ्रान्समा चरमपन्थीहरुको आक्रमण तीव्र भएकै समयमा सन् २०१७ मा सडक सवारी नियम नमानेर ट्राफिक प्रहरीले सवारी साधन रोक्न दिएको आदेशको अवहेलना गर्ने, प्रहरी वा सडकका पैदलयात्री वा अन्यको ज्यान जोखिममा पर्ने स्थिति उत्पन्न भएमा गोली चलाउन पाइने कानून लागू भएको थियो ।
नाहेलको मामिलामा गोली नै हान्नु पर्ने स्थिति नदेखिएको भन्दै गोली हान्ने प्रहरीमाथि छानबिन भइरहेको छ । स्थिति नियन्त्रण गर्न सडकमा ४५ हजार प्रहरी परिचालन गरिएको छ । एजेन्सी