विद्युतीय सवारी आयात हालसम्मकै उच्च, जेठ महिनामा मात्रै ९१५ वटा इभी नेपाल भित्रियो



काठमाडौं,असार ७ । नेपाल विद्युतीय सवारी (कार, जीप र भ्यान) प्रतिको आकर्षण चुलिएको छ । एक महिनामै ९१५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको जेठ महिनासम्ममा कुल ३ हजार ८७० वटा विद्युतीय सवारी आयात भएको छ ।

समिक्षा अवधिमा ११ अर्ब २३ करोड ७३ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको तथ्याङ्कमा उल्लेख छ । तर, जेठ महिनामा मात्रै ९१५ वटा थप इभी नेपाल भित्रिएको छ, जुन हालसम्मकै उच्च हो ।

गत बैशाख मसान्तसम्ममा भने ५०५ वटा मात्रै विद्युतीय सवारी आयात भएको थियो । बैशाखमा ८ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कुल २ हजार ९५५ वटा विद्युतीय सवारी आयात भएको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको महिनामै विद्युतीय सवारीको आयात बढेको देखिएको छ । गत जेठ १५ गते सरकारले आगामी आवको बजेट ल्याएको थियो । सो बजेटमा विद्युतीय सवारीको करको दर फेरफेर गरेको थियो । यसरी एकैपटक उच्च दरमा गाडी भित्रिनुलाई संकास्पद रुपमा पनि हेरिएको छ ।

कर बढ्ने आशंकामा बजेट अघि नै बढी विद्युतीय सवारी साधान भन्सारबाट छुटेको आकलन गरिएको छ । तर, नेपालमा विद्युतीय सवारीमा माग अत्याधिक बढेकाले नै आयात वृद्धि भएको नाडा अटोमोवाईल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले बताए । उनले आम नेपालीमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणले नै यसको माग बढी रहेको बताए । नेपाल मात्र नभई विश्वका हरेक मुलुक इभिप्रति आकर्षित भएको अध्यक्ष थापाको भनाई छ । पछिल्लो समय विश्वमा बजारमा नै इभिको अत्याधिक माग रहेको उनले बताए ।

नुपातको आधारमा दक्षिण एसियामै नेपालमा इभीको माग उच्च रहेको उनको भनाइ छ । ‘विद्युतीय सवारीमा आकर्षण बढ्नु स्वभाविक हो । अहिले ग्लोबल्ली ट्रेन्ड नै इभिको छ । नेपाल मात्र नभई भारत, चीन, युरोपियन मुलुकहरु र विश्वभर नै विद्युतीय गाडीप्रति चासो बढेको छ’–थापाले भने । सरकारले बजेट मार्फत नै विद्युतीय सवारी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थको परनिर्भरता घटाउनका लागि इभिलाई प्रोत्साहन गरिएको हो । तर, करको दरमा भने केही हेरफेर भएको छ ।

बजेट मार्फत १०० किलोवाटसम्म क्षमताका विद्युतीय सवारीमा पुरानै दर कायम गरिएको छ । तर, १०० देखि २०० किलोवाट क्षमताका विद्युतीय सवारीमा भने ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्त:शुल्कको व्यवस्था गरेको छ । भन्सार महसुल मात्रै थियो । यस्तै, २०० किलोवाटदेखि ३०० किलोवाटसम्म ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्त:शुल्क दर तोकिएको छ । ३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्त:शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

पछिल्लो समय नेपालीहरुको विद्युतीय सवारीप्रति आम मानिसहरुको लहर नै चलेको नाडा अटोमोवाईल्स एशोसिएशनका सचिव अनुप कुमार बरालले बताए । उनले इभिमा अपरेशन कष्ट कम लाग्ने भएकाले पनि आकर्षण बढेको बताए ।

नारायणी अटो विजनेसका एमडी/प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका बरालले पेट्रोलबाट चल्ने गाडी अत्यन्त महँगो भएका कारण पनि इभि तर्फ आकर्षण बढेको हुन सक्ने बताए । उनले भने,–‘नेपालमा पेट्रोलबाट चल्ने गाडीको खर्च धेरै भएकाले पनि इभि तर्फ आर्कषण बढेको हुन्सक्छ । पेट्रोलको गाडीमा समस्या पनि भएका हुनसक्छन् । हाम्रो विकासोन्मुख देशमा ग्राहकहरुले पनि फड्को मार्ने हिसावले इभिप्रति सकरात्मक भएको हुनसक्छन्, आकर्षण बढ्कै छ ।’

विद्युतीय सवारीमा सरकारले दिएको प्रोत्साहनसंगै इलेक्ट्रिक कार, जीप, भ्यानको ब्याट्री चार्ज गर्न मिल्ने चार्जिङ स्टेशनको सुविधा पनि वृद्धि हुँदै गएको छ । विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माण बढेसंगै यसप्रति आम मानिसको विश्वास झनै बढेको हो । यता, नेपाल विद्युत प्राधिकरणले पनि धमाधम विद्युतीय सवारीको चार्जिङ्ग स्टेशन निर्माण गरिरहेको छ ।

हाल प्राधिकरणले देशभर ५१ वटा चार्जिङ्ग स्टेशन निर्माण कार्य अघि बढाएको छ । तीमध्ये भरतपुर, खुर्कोट, सिन्धुली, रत्नपार्क, महेन्द्र पुलिस क्लब मुग्लिन, बर्दिवास लगायतका ३२ वटा निर्माण सम्पन्न भएका छन् । प्राधिकरणले अब बाँकी १९ वटा स्टेशन पनि छिट्टै संचालनमा ल्याउने तयारी थालेको छ । यसका साथै निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेशन निर्माणका भईरहेका छन् ।उक्त चार्जिङ स्टेशन हरु सञ्चालनमा आएपछि विद्युतीय सवारी साधानलाई सहजता प्रदान हुने बताइएको छ । साथै, पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याउने अपेक्षा गरिएको छ ।

मासिक साढे ३०० वटा विद्युतीय सवारी नेपाल भित्रियो

नेपालमा मासिक साढे ३०० वटा सवारी आयात भएको देखिन्छ । विभागको तथ्याङ्क अनुसार मासिक औसतमा ३५१ वटा इलेक्ट्रिक गाडी आउने गरेको देखाउँछ ।

चालु आवको पहिलो महिनामा २११ वटा विद्युतीय सवारी आयात भएका थिए । सो महिनामा ६२ करोड १६ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको थियो ।

भदौ महिनामा भने थप २०३ वटा विद्युतीय सवारी आयात भएको थियो । भदौ महिनासम्ममा १ अर्ब १९ करोड ४३ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, असोज महिनामा मात्रै थप २९१ वटा, कात्तिकमा थप ३१३ वटा, मंसिर ३३५ वटा, पुसमा ३९६ वटा विद्युती सवारी आयात भएको थियो । तर, पुसको तुलनामा माघ र फागुनमा महिनामा भने घटेको छ । माघमा २६० वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ । फागनुमा भने यो वर्षकै कम अर्थात १९६ वटा इभि आयात गरिएको तथ्याङ्कमा उल्लेख छ । नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको विभागले जनाएको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।

नेपालमा १०० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका विद्युतीय सवारी आयात हुने गरेको छ । विद्युतीय सवारी आयातबाट जेठसम्म सरकारले ३ अर्ब ३ करोड ७० लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । गत आवमा भने कुल ५ अर्ब ३२ करोड ५ लाख रुपैयाँ बराबरको १ हजार ८०७ वटा मात्रै सवारी आयात भएको थियो । सो आवमा विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ४३ करोड ९२ लाख रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।

कुन देशबाट कति इभि आयात ?

चालु आवको ११ महिनामा सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक भारतबाट आयात भएको छ । भारतबाट जेठ मसान्त सम्ममा ५ अर्ब ९४ करोड १५ लाख रुपैयाँ बराबरको २ हजार २०५ वटा विद्युतीय सवारी आयात भएको छ ।

दोस्रो स्थानमा रहेको चीनबाट भने ३ अर्ब ७५ करोड १५ लाख ४२ हजार रुपैयाँ बराबरको इभि आयात गरिएको छ । यस्तै, कोरियाबाट १ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको ३७५ वटा विभिन्न तौल क्षमता गाडी आयात भएको विभागले जनाएको छ ।

यस्तै, संयुक्त राज्य अमेरिकाबाट ४ करोड ८५ लाख रुपैयाँ बराबरको ९ वटा, इन्डोनेशियाबाट २ करोड ३५ लाखको ११ वटा र बेलायतबाट ५६ लाख रुपैयाँ बराबरको १ वटा विद्युतीय सवारी साधान नेपाल भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्