दक्षिण एशियामै पहिलोपटक नेपालमा आयोजना हुँदै ‘ड्रागन बोट रेस फेस्टिभल’



पोखरा,असार ८ । पोखरा स्थित फेवा तालमा आयोजना हुन लागेको ड्रागन बोट फेस्टिभलको तयारी पूरा भएको छ । दक्षिण एशियामै पहिलोपटक नेपालमा यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा नेपाल र चीनका खेलाडीहरूले शुक्रवार र शनिवार प्रतिस्पर्धा गर्नेछन् । भोलिदेखि सञ्चालन हुने नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’मा भाग लिन चिनियाँ टोली चार्टड उडानबाट सिधै पोखरा आएको छ ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र ताल किनारको क्याम्पिङ चोकमा फेस्टिभल आयोजना हुँदैछ ।

यस प्रकारको फेस्टिभल चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय शहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास आयोजकको छ ।

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिने गरी बनाइएका डुङ्गा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् । निर्धारित दूरी सबैभन्दा छिटो पार गर्ने टोली विजेता बन्नेछ ।

बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत शुक्रवार र शनिवार फेवातालमा दुई सय र पाँच सय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।

प्रतिष्पर्धामा नेपालबाट नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन (एनआरसीए), चाइना नेपाल फ्रेन्डसीप, फेवा ढुङ्गा व्यवसायी सङ्गठन र पोखरा महानगरपालिकाको टिम रहेको छ । 

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् । बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीमा हस्ताक्षर भएको थियो ।

यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको विश्वास छ ।

उनले भने, “बोट रेसको आवश्यक सम्पूर्ण तयारी सकिएको छ । दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्दछ ।”

रेसका लागि चीनको केरुङनाका हुँदै आठवटा विशेष खालका डुङ्गा तथा आवश्यक सामग्री र बोट रेस प्रशिक्षक जेठ अन्तिम साता पोखरा आएर अभ्यास गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्