काठमाडौं महानगरको नीति तथा कार्यक्रम : कामपाको सेवा प्रवाह १६ घण्टामा विस्तार गरिने 



काठमाडौं,असार ७ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अत्यावश्यक सेवा परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा कामपाअन्तर्गतका कार्यालयका सबै सेवा प्रवाह विन्दुमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना गरी क्रमिकरूपमा सञ्चालनमा ल्याइनेछ । कामपाको निर्णय प्रक्रियालाई पारदर्शी, सहज, सूचना प्रविधिमैत्री, सेवाग्राहीमैत्री, कुशल एवं प्रभावकारी बनाइनेछ । 

नीति तथा कार्यक्रममा सङ्घ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्वसहमति एवं समन्वयबिना छनोट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ । 

सेवा केन्द्रका रूपमा सेवा प्रवाह गरिरहेका वडा कार्यालयको काम कारबाहीलाई थप प्रभावकारी र अधिकार सम्पन्न बनाउन थप कर्मचारी, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको व्यवस्था मिलाइने बताइएको छ ।

वार्षिकरूपमा १ लाख रुख बिरुवा रोप्ने

वार्षिकरूपमा १ लाख रुख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाको रूपमा कार्यक्रम सञ्चालन गरिनेछ । 

चराचुरुङ्गीको वासस्थान सुनिश्चित गर्नका लागि महानगरभित्र रहेका सहरी जङ्गलको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगर क्षेत्रभित्रको सम्भावित स्थानमा पोखरी स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने र यस विषयमा छिमेकी नगरपालिकासँग समेत समन्वय र सहकार्य गरिने कार्यक्रमा बताइएको छ । 

वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गरिने नीति कामपाले लिएको छ ।  

प्रतिक्रिया दिनुहोस्