आर्थिक मन्दीको असर: लुम्बिनीका उद्योगहरुको क्षमता उपयोग घट्यो, उत्पादनको अवस्था कस्तो ?



काठमाडौं,असार ५ । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण लुम्बिनी प्रदेशका उद्योगहरुको उपयोग (सञ्चालन) क्षमतामा पनि भारी गिरावट आएको छ । पछिल्लो एक बर्षको अवधीमा लुम्बिनी प्रदेशका उद्योगहरुको सञ्चालन क्षमता ६.८९ प्रतिशत विन्दुले घटेको हो ।

नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशका आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक बर्ष २०७९/८० को पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ४२.३३ प्रतिशत मात्रै छ । गत आवको सोही अवधीमा उनीहरुको क्षमता उपयोग ४९.२२ प्रतिशत थियो । विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन हुन सकेका हुन् ।

यसैपनि नेपालमा उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । त्यो अवस्थामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण उनीहरु थप मारमा परेका हुन् । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण आम उपभोक्ताहरुको क्रय शक्ति घटेको छ । त्यसले गर्दा बजारमा बस्तु तथा सेवाको मागमा कमी आएको छ । वस्तु तथा सेवाको मागले उद्योग सञ्चालनमा प्रत्यक्ष सम्बन्ध राख्छन् । त्यो अवस्थामा माग घट्दा उद्योगहरु क्षमताअनुसार चल्न नसकेको राष्ट बैंकका अधिकारीहरु बताउछन् । साथै, बजारमा माग नभएको बेला उत्पादन बढाउने अवस्था पनि रहदैन । यसैगरि महंगी, उच्च व्याजदर, विद्युत कटौती लगायतका कारण पनि उद्योगहरुको सञ्चालन प्रभावित भएको छ । समग्रमा पछिल्लो समय देखिएको आर्थिक संकटकै कारण उद्योगहरु क्षमताअनुसार सञ्चालनमा नआएको बताइन्छ ।

विशेषगरी, ड्राई सिरप, बिजुलीका तार तथा केबुल, कंक्रीट, चामल, पेय पदार्थ, जि.आई पाईप, औषधिजन्य उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग कमी आएको छ । त्यसले गर्दा गत आवको सोही अवधिको तुलनामा समग्र उद्योगको औषत क्षमता उपयोगमा केही ह्रास देखिएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकको अध्ययनमा समेटिएका उद्योगहरु मध्ये सबैभन्दा बढी प्लाष्टिकजन्य उद्योगले ८९.६४ प्रतिशत र सबैभन्दा कम ड्राई सिरपौषधि उत्पादन गर्ने उद्योगले ३.९१ प्रतिशत क्षमता उपयोग गरेका छन् । यसैगरी औषत भन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरुमा कागज, ट्याबलेट, आल्मुनियम, रोजिन र पशुदाना रहेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

उत्पादन अवस्था कस्तो ?

अध्ययनमा समेटिएका उद्योगहरुमध्ये समीक्षा अवधिमा रोजिन उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ३०.६६ प्रतिशतले वृद्धि भएको छ । कच्चा पदार्थको शुलभ उपलब्धता र भारत लगायतका अन्य देशहरुमा माग उच्च रहेको कारण रोजिन उत्पादनमा वृद्धि भएको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

यस्तै, कागजको उत्पादन पनि बढेको छ । विदेशमा कागजको मूल्य बढेर आयात कम हुदा नेपाली कागजको माग बढेको छ । सोही कारण समीक्षा अवधिमा कागज उत्पादन ३०.५९ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेछ ।

तर, यसपाली सिमेन्टको उत्पादन भने घटेको छ । बजारको मागमा कमी आउनु, विद्युत आपूर्तिमा समस्या र अन्तराष्ट्रिय बजारमा कोईला तथा पेट्रोलियम पदार्थहरुको मूल्य वृद्धिका कारण समीक्षा अवधिमा सिमेन्ट उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ५४.०९ प्रतिशतले ह्रास भएको हो ।

त्यसैगरी, प्रमुख औद्योगिक उत्पादनहरुमध्ये समीक्षा अवधिमा लिक्वूड उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ८.१८ प्रतिशतले वृद्धि भएतापनि आल्मुनियम उत्पादन ६५.४७ प्रतिशत, चामल उत्पादन ५८.७९ प्रतिशत, कंक्रीट उत्पादन ५२.०९ प्रतिशत, बिजुलीका तार र केबुल ४८.६४ प्रतिशत, गहुँको पिठो ३६.३१ प्रतिशत, टेवलेट उत्पादन २९.३९ प्रतिशत, चाउचाउको उत्पादन १६.५९ प्रतिशत, ड्राइ सिरफ उत्पादन १९.४९ प्रतिशत, मदिरा उत्पादन १०.९५ प्रतिशत, क्याप्सुल उत्पादन १०.३३ प्रतिशत र ओयनमेन्ट उत्पादन ९.८८ प्रतिशतले ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले समिक्षा अवधमिा २७ उद्योगलाई अध्ययनमा समावेश गरेको थियो । त्यसमध्ये मध्ये १८ वटाबाट प्राप्त तथ्याङ्क अनुसार महिला २७१ र पुरुष २८४१ गरी जम्मा ३११२ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्