भोलि नुवाकोटका विद्यालय पनि बन्द हुने
नुवाकोट,असार २ । भोलि आइतबार नुवाकोटका विद्यालय पनि बन्द हुने भएका छन् । बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेपछि नुवाकोटका विद्यालय पनि बन्द हुन पुगेको नेपाल विद्यालय कर्मचारी परिषद पञ्चकन्याका अध्यक्ष धिरेन्द्र ठकुरीले बताए ।
आन्दोलन स्वरुप भोलि आइतबार नुवाकोटका मात्र नभई देशभरका सामुदायिक विद्यालय बन्द हुने संघर्ष समितिले जनाएको छ । सरकारले नीति तथा कार्यक्रममा विद्यालयका माग सम्बोधन गरेपनि बजेटमा नसमेटिएपछि विद्यालय कर्मचारी आन्दोलित बनेका हुन् । नेपाल विद्यालय कर्मचारी परिषदले जेठ २० गतेदेखि लगातार आन्दोलन गर्दै आइरहेको र आइतबार सामुदायिक विद्यालय बन्द गरि बिरोध जनाउने कार्यक्रम रहेको बताएको छ ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले मुलुकभरका सामुदायिक विद्यालयहरुमा न्युन वेतनमा कार्यरत कर्मचारीको पीडा बुझ्न नसकेको र उनीहरुको मागप्रति सरकार संवेदनशील हुन नरहेको आरोप लगाएका छन् ।
हाल मुलुकभर सामुदायिक विद्यालयमा विद्यालय सहयोगी २७,८९० र लेखा सहायक ७,१ ७८ गरी ३५ हजार ६८ विद्यालय कर्मचारी कार्यरत रहेका छन् । तर, विद्यालय पियनले मासिक ८ हजार र लेखापालले मासिक १३, ५०० मात्रै पारिश्रमिक पाउँदै आएका छन् । उनीहरुको व्यवस्थापनका लागि थप ७ अर्ब ८१ करोड २६ लाख रकम लाग्ने भनेर शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निणय गरी प्रक्रिया अगाडि बढाएको भएपनि बजेटमा नसमेटिँदा विद्यालय कर्मचारी आन्दोलित बनेका हुन् ।