भ्याटले प्याज आयात नहुँदा बजारमा हाहाकार, १५ दिनमा मूल्य तेब्बरभन्दा माथि



काठमाडौं,जेठ ३२ । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अर्ब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । 

भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ लाख १४ हजार ६३१ किलो प्याज आयात भएको हो । गत आवको सोही अवधिमा ५ अर्ब ४० करोड रुपैयाँको १४ करोड ५२ लाख ११ हजार ९७४ किलो प्याज आयात भएको थियो । अहिले भ्याटका कारण प्याज आयात गर्ने वातावरण नभएको व्यवासायीको गुनासो छ । 

नेपाल कृषि उपज आलु, प्याज आयातनिर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल प्याज, आलुलगायत वस्तुमा भ्याट लगाउँदा व्यवसायीले आयात गर्ने वातावरण नभएको बताउँछन् । ‘धेरैजसो क्रेता भ्याटमा दर्ता नभएको अवस्था छ । यस्तो अवस्थामा सरकारले अध्ययन र सरोकारवालासँग छलफल नै नगरी भ्याट लगाउने निर्णय गर्दा व्यवसायी मात्र नभएर उपभोक्ता पनि मर्कामा परे,’ उनले भने, ‘अहिले धेरैजसो व्यवसायी तत्काल प्याज आयात नगर्ने मनस्थितिमा छौं ।

सरकारी नीतिका कारण प्याज आयात नै गर्न नसकेकाले समस्या समाधानका लागि सम्बद्ध मन्त्रालयदेखि विभिन्न निकाय धाइरहेको उनले बताए । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना प्याजमा भ्याट लगाउने निर्णयमा सरकार, अर्थ मन्त्रालय र सम्बद्ध निकायले पुनर्विचार गर्नुपर्ने बताउँछन् । 

‘ब्राजिल, इथियोपियालगायत मुलुकबाट आयात गरेर धनी वर्गले उपभोग गर्ने माछालगायतको वस्तुमा भ्याट नलगाउने, निम्न वर्गले हरेक दिन उपभोग गर्ने प्याज, आलुमा भ्याट लगाउनु कतिको उचित छ ?’ प्रश्न गर्दै तिमल्सिना भन्छन्, ‘सरकारले उक्त निर्णयमा पुनर्विचार गर्नुपर्छ ।’ ‘९५ प्रतिशतभन्दा बढी प्याजमा हामी भारतमा निर्भर छौं । त्यसैले आन्तरिक उत्पादन प्रशस्त नभएको अवस्थामा भ्याट लगाउनेभन्दा पनि उत्पादन कसरी बढाउन सकिन्छ भन्नेमा सरकार केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘उत्पादन बढाउन किसानलाई बीउबिजन, मललगायत वस्तु समयमै उपलब्ध गराउने विकल्पमा जानुपर्छ ।’

१५ दिनमा मूल्य तेब्बरभन्दा माथि

कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार १५ दिनअगाडि प्याजको होलसेल मूल्य ३५ रुपैयाँ प्रतिकेजी थियो । अहिले भ्याट लाग्ने भनेसँगै प्याज अभावका कारण कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूचीमा प्याजको मूल्य नै छैन । कालीमाटीका व्यापारी बजारमा प्याज नभएका कारण मूल्य नराखिएको बताउँछन् । बजारमा उपलब्ध नहुने तरकारी वा फलफूलको नाम मूल्यसूचीमा हुँदैन । खुद्रामा भने प्याजको मूल्य अहिले १२५ रुपैयाँ प्रतिकेजीसम्म पुगेको छ । कालीमाटीका होलसेल प्याज व्यापारी राजेश अधिकारी केही दिनदेखि बजारमा प्याज नै नभित्रिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्