एकैदिन ४५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य, कुनको कति बढ्यो ?
काठमाडौं,जेठ २९ । तरकारीको भाउ महँगिएको छ । एकैदिन तरकारीको मूल्य करिव ४५ प्रतिशतसम्मले वृद्धि भएको छ । कालिमाटी फलफूल लतथा तरकारी बजारको मूल्य सूची अनुसार अधिकांश तरकारीको खुद्रा भाउ बढेको पाइएको छ ।
सोमबार सबैभन्दा धेरै भिण्डीको मूल्य वृद्धि भएको छ । भिण्डी प्रतिकेजी ४४.४४ प्रतिशतले बढेर ६५ रुपैयाँ पुगेको छ । यस्तै पाकेको फर्सीको मूल्य एकैदिन २८.५७ प्रतिशतले बढेर प्रतिकेजी ४५ रुपैयाँ पुगेको छ । बोडी, मकैबोडीको १८ प्रतिशतसम्म बढेको छ ।
यस्तै आलुको मूल्य ३ प्रतिशतदेखि १५ प्रतिशतसम्म बढेको छ । सोमबार रातो आलु प्रतिकेजी १५.३८ प्रतिशतले वृद्धि भई प्रतिकेजी ४५ रुपैयाँ, मुडे रातो आलुको ३.८५ प्रतिशतले बढेर ४० रुपैयाँ ५० पैसा, सेतो आलुको भाउ १०.७७ प्रतिशत ७७ प्रतिशतले बढेर प्रतिकेजी ३६ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ ।
यस्तै, आज ब्रोकाउलीको मूल्य १०.८६ प्रतिशत, च्याउको १.६३ प्रतिशतदेखि ३.०३ प्रतिशतसम्म बढेको छ । हरियो प्याजको मूल्य भने आज २.९५ प्रतिशतले घटेको छ ।
त्यसैगरि आज गोलभेडाको मूल्य भने स्थिर नै छ भने मूलाको भाउ घटेको छ । आज मूल्य घट्नेमा सिमी, लौका, रायो, पालुङ्गो साग, कुरिलो, न्युरो, तामा, गुन्द्रुक, खुर्सानी (हरियो, माछे, भेडे) , लसुन हरियो लगायत छन् ।
विशेष गरि सरकारले जेठ १५ गते बजेट मार्फत तरकारी आयातमा कर लगाउने घोषणा गरेको थियो । त्यसपछि नै मूल्य बढेको छ । यद्यपि, बजेटमा तोकिएको कर आगामी साउन १ गतेदेखि लागू हुने हो । तर, करि डेढ महिना अघि नै बजार भाउ बढेको छ । ठुला व्यापारीहरुको मिलिमतोमा बजार भाउ बढाइएको बताइएको छ ।